सप्तरी – कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्ती मार्ने निष्कर्षमा सुनसरी प्रशासन पुगेको छ।
हात्तीले निरन्तर मानिसको ज्यान लिन थालेपछि हात्ती मार्ने तयारीमा प्रशासन पुगेको हो। ‘जनताको माग हात्ती मार्नुपर्ने भन्ने छ, उनीहरूको मागअनुसार हामी निर्णय गर्छौं,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘निर्णय नै भइसकेको चाहिँ छैन, तर जनताको मागअनुसार नै निर्णय हुन्छ।’ आरक्षबाट बाहिर निस्केर ‘मकुना’ले स्थानीयको ज्यान लिइरहेको छ। हात्ती नियन्त्रणमा लिनुपर्ने जनताको गुनासो आएपछि मार्ने योजनाअनुसार कोसीटप्पु वन्यजन्तु आरक्षमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लेखिपठाउने तयारी भइरहेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयबु अन्सारीले बताए।सोमबार मात्र मकुनाको आक्रमणबाट कोसी गाउँपालिका-६ का ३२ वर्षीय प्रमोद यादवको मृत्यु भएको थियो। गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। अन्सारीका अनुसार यो हात्तीले तीन वर्षको अवधिमा १८ जनाको ज्यान लिइसकेको छ। ‘अहिलेको अवस्था हेर्दा यो हात्तीको मानसिक सन्तुलन ठिक छैन, पहिले-पहिले मानिस देख्दा भाग्थ्यो,’ उनले भने, ‘अहिले आक्रमण गरिहाल्छ।’ कोसीटप्पुमा सात वटा हात्ती छन्। तिनीहरूमध्ये ‘मकुना’ कतै जाँदैन। ‘अरू आउँछन्, १०-१५ दिन बस्छन् र हराउँछन्, यो कतै जाँदैन,’ अन्सारीले भने। अन्य हात्तीलाई पनि पक्रेर खुट्टामा चेन लगाउनुपर्ने माग स्थानीयको रहेको अन्सारीले बताए। अन्सारीका अनुसार अहिले कोसीटप्पु वन्यजन्तु आरक्षमा बैठक बोलाइएको छ। त्यो बैठकले हात्तीबारे निर्णय लिने छ।कोसीटप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरी तीन जिल्लामा फैलिएको छ। आरक्षबाट जङ्गली जनावर निस्किएर बढी क्षति गर्ने कोसी गाउँपालिका हो।आरक्षले अहिले आफ्नो सीमा क्षेत्रमा सोलार फेन्सिङ तार लगाएको छ। तर, सोलार फेन्सिङमा विद्युत प्रवाहित छैन। जसका कारण हात्ती निर्वाध निस्किन पाइरहेको छ। ‘मकुना’ दाह्रा नभएको भाले हात्ती हो। आरक्षका अनुसार १७ जङ्गली हात्तीमध्ये मकुना यहीँको स्थायी हात्ती हो। आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीका अनुसार जंगली जनावर ह्रिंसक वा पागल भएमा कानुनअनुसार मार्न सकिन्छ। स्थानीय प्रशासन ऐनमा मार्न सक्ने प्रावधान छ। स्थानीय प्रशासन ऐन मात्र हैन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा बौलाएको हात्ती मार्न सक्ने व्यवस्था रहेको वार्डेन चौधरीले बताए।‘बहुलाएको जङ्गली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन सकिनेछ,’ चौधरीले भने। आरक्षका घरपालुवा हात्तीलाई गर्भवती बनाएर रैथाने हात्ती संरक्षण गर्नमा यसको योगदान रहेको आरक्ष बताउँछ। ‘मकुना अहिले युवा अवस्थामा छ, मार्नुबाहेकको अन्य विधि प्रयोग गर्ने हो भने पनि मकुनाबाट हुने क्षतिलाई जोगाउन सकिन्छ,’ आरक्षका एक कर्मचारीले भने।
श्रीपुरमा हात्तीले मंसिर पहिलो साता पनि एक जनाको ज्यान लिएको र ४ जना घाइते बनाएको थियो। त्यो घटनापछि २०७७ मंसिर ६ वार्डेन चौधरीले विभागलाई पत्र पठाएका थिए। पुनः सोमबार विभागमा पत्र पठाई हात्ती नियन्त्रणका लागि आग्रह गरिएको चौधरीले बताए।