०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – सत्ताधारी पार्टी नेकपाका अध्यक्षद्वयको मुख छोडाछोड र आफू असली रहेकोे दाबी गरागर देख्दा आजभोलि मलाई त्यही बर्मझियाको पेडा पसलको याद आइरहेको छ ।

ओली र प्रचण्डमध्ये कुन चाहिँ हुन् असली अध्यक्ष ? कुनचाहिँ हुन् मार्क्सदेखि मदनसम्मका असली उत्तराधिकारी ?साँच्चै, कुन चाहिँ हुन् असली कम्युनिस्ट ? प्रचण्डको उन्नाइस पाने आरोप-पत्र पढेपछि प्रचण्ड नै वास्तवमा असली बुढा रहेछन् भन्ने लाग्याथ्यो । तर ओलीको अठतीस पाने पढेपछि पुरै कुहिराको काग भाकी छु आजकाल । बर्मझियाको भएजति सबै पेडा पसल चहार्दा पनि असली पेडा पसल पत्तो नलागेझैँ सन्ताउन्न पाना पढेर पनि सत्य पत्ता लगाउन गार्‍हो परेको छ । तर ओली-प्रचण्डले यो नठानुन कि, हामी नागरिक सत्य असत्य छुट्ट्याउन नसक्ने मूर्ख हौं । चेतनाहीन पशु हौं ।सत्यअसत्य छुट्ट्याएर नै उनीहरूलाई गएको निर्वाचनमा मतदाताले मतदान गरेका हुन् । नेपालमा व्याप्त गरिबी, भ्रष्टाचार, अन्याय, अत्याचार, असमानताका अन्त्य गर्ने कम्युनिस्ट सिद्धान्तलाई हेरेर जनताले भोट दिएका हुन् । चौध वर्षको ओलीको जेल जीवन, पार्टीभित्र कयौं विषयमा लिएको चट्टानी अडान, त्यस्तै प्रचण्डले दस बर्षे युद्धमा देखाएको प्रचण्ड क्षमताका कारण मतदाताले आफ्नो अमूल्य मत दिएका हुन् । यतिका अग्निपरीक्षा पास गरेका नेताहरूलाई बिश्वास गर्दा धोखा नपाइएला भनेर मतदान गरेका हुन् ।ओली-प्रचण्ड दुबैले संभवत: नेपालको इतिहासमै सबैभन्दा ठूलो धोखा नेपाली जनतालाई दिए । जनताप्रति इमानदार, सिद्धान्तनिष्ट, इच्छाशक्तिले युक्त, भिजिनरी नेताका लागि नेपाल बनाउने सबैभन्दा सुनौलो मौका थियो । सायदै यस्तो सुनौलो मौका फेरि दोहोरिएला । मौकामा हिरा फोर्न नसक्ने नेताहरू अन्ततः नालीका किरा हुन् ।

नेपालीकै शीर निहुरिने गरी एकआपसमा दन्तबझान गरेर समय बिताउनुभन्दा ओली-प्रचण्डले आफ्नै पार्टीको चुनावी घोषणा-पत्र पल्टाएर हेरे कति राम्रो हुनेथियो । घोषणा-पत्रमा सपना बाँडिएको छ- ‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइनेछ । १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ ।’घोषणा-पत्रमा ‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलाई नागरिकको मौलिक अधिकार’ का रूपमा अंगीकार गर्ने अनि संभवत: शिक्षा र स्वास्थ्यमा दुनियाँमै नभएको ब्यापार गर्ने; गाँस र बास नभएर भोकै र नाङ्गै मान्छे मर्नुपर्ने; देशमा रोजगारी दिन नसकेर युवाहरूलाई बिदेशमा बेच्ने, बिदेशबाट लखेट्दा तिनै युवाहरूलाई देशमा प्रवेश गर्नसम्म नदिने ।’भ्रष्टाचार र अनियमित कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ । भ्रष्टाचारविरुद्ध जनचेतना र सक्रियता अभियान सञ्चालन गरिनेछ । पारदर्शिता र जवाफदेही प्रणालीलाई सदृढ तुल्याइनेछ ।’ भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन कायम गर्ने यी प्रतिबद्धता कहाँ गए आज ? ‘भ्रष्टाचार गर्दिनँ । भ्रष्टाचार सहदिनँ ।’ प्रधानमन्त्री ओलीका यी नारा अर्का अध्यक्ष प्रचण्डले झूटो सावित गरिदिएका छन् । ल प्रचण्डको त आरोप भयो रे ! एशिया कै भ्रष्टाचार बढी हुने देश भन्दै भर्खरै सार्वजनिक गरेको ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यगत रिपोर्टलाई के भन्ने ?विश्वव्यापी कोरोना महामारीको कारण संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिनानुदिन बढेको बढेकै छ । न त महामारी नियन्त्रणमा सरकारले कुनै प्रभाकारी प्रयास गरेको देखियो, न त संक्रमितहरूको उपचारमा राज्यले दायित्व लिएको नै देखियो । स्वाव परिक्षणबाट समेत भागेर राज्यले आफ्नो निरिहता प्रदर्शन गरिरहेको छ । तैपनि दुनियाँसामु प्रतिवेदनमा भने कोरोना नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको बयानबाजी गरेको गरेकै छ ।

ओली-प्रचण्ड आरोप-पत्रमा एकाअर्कालाई लगाइएको आरोप पक्कै आरोप मात्रै होइनन् । यदि आरोप मात्रै रहेछन् भने पनि अब यिनीहरूलाई अध्यक्षजस्तो सम्मानित पदमा बसिरहने नैतिक अधिकार छैन
झूटो बोल्नुको पनि सीमा हुन्छ । ढाँट्नुको पनि हद हुन्छ । वास्तवमा इमानदारीपूर्वक काम गरेको भए पाँच वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याउन पुरापुर सम्भावना थियो । आजको हजार डलर प्रतिव्यक्ति आयलाई दस वर्षपछि पाँच हजार पुर्‍याउन पनि संभव थियो । इतिहासमा कहिल्यै नपाएको तागत पाएको थियो नेकपाको सरकारले ।संविधानको अपरिवर्तनिय धाराहरू बाहेक सबै धाराहरू परिवर्तन गर्नसक्ने हैसियत थियो यो सरकारसँग । तर आज ‘आकाशको जून टिप्न खोज्दा पोल्टाको सुन’ गुमेझैँ भएको छ ओली सरकारको हालत । आफ्नै सहयात्री दललाई जस्केलाबाट अध्यादेश ल्याएर फुटाउन खोजेपछि दुई तिहाइको ओली सरकार बहुमतमा झरेको छ । सायद ‘विनाश काले विपरीत बुद्धि’ भनेको यही होला ।शासकहरूमा न त इमानदारीता र इच्छाशक्ति देखियो न त नेताहरूमा सिद्धान्त निष्ठता । ओली-प्रचण्ड इमानदार भएका भए एमाले-माओवादीको एकता युग बदल्ने तागत हुनसक्थ्यो । तर ओली-प्रचण्ड दुबै रहेछन् स्वार्थी र मतलबी । अरु दलका कतिपयले त्यहीबेला भनेका थिए- ‘ओली-प्रचण्ड घिउ बेचुवा र तरबार बेचुवा हुन् । यिनीहरूको एकता अर्को चुनावसम्म पनि टिक्दैन ।’ यस्ता कुरा कमजोरहरूको हीनग्रन्थीबाट उब्जेको छट्पटीजस्तो लाग्थ्यो मलाई । तर समयले सही रहेछ भन्ने प्रमाणित गर्‍यो । म मनोगत सावित भएँ ।

ओली-प्रचण्डको झगडा अब उनीहरूको मात्रै निजी बिषय भएन । उनीहरूका पार्टीको मात्रै मतलबको कुरा रहेन । देशको बिषय बन्यो । हिजो आफैंले गर्नुसम्म दु:ख गरेर, जेलनेल भोगेर, युद्ध गरेर, हजारौंको बलिदानबाट प्राप्त भएका गणतन्त्र, सङ्घीयताजस्ता उपलब्धिहरू गुम्ने खतरा दिनानुदिन बढ्दै गइरहेको छ । ‘राजा आऊ देश बचाऊ’ भन्दै हजारौं मान्छेहरू सडकमा आउन सुरु गरेका छन् । सामान्यत: इतिहास दोहोरिदैन भन्ने भनाइ छ । तर दुनियाँमा इतिहास दोहोरिएका उदाहरणहरू पनि छन् ।ओली-प्रचण्ड आरोप-पत्रमा एकाअर्कालाई लगाइएको आरोप पक्कै आरोप मात्रै होइनन् । यदि आरोप मात्रै रहेछन् भने पनि अब यिनीहरूलाई अध्यक्षजस्तो सम्मानित पदमा बसिरहने नैतिक अधिकार छैन । अब ओली प्रधानमन्त्रीजस्तो गरिमामय कार्यकारी पदमा बस्नु हुँदैन । जुन कुरा ओली आफैंले पनि आफ्नो प्रतिवेदनमा स्वीकार गरेका छन् ।

अन्त्यमा, बर्मझियामा असली पेडा नभेटेर जसरी यात्रीहरू पेडा नै नकिनी बाटो लाग्छन् । त्यसरी नै ओली-प्रचण्डको झगडाले आफ्नै पार्टीका नेताकार्यकर्ताहरू पनि बाटो लाग्न सक्छन् । ‘असली बुढाको पेडा पसल’ खोज्नमा सायद अब धेरै समय नअलमलिन सक्छन् ग्राहकहरू । किनकि, ‘ओली-प्रचण्ड पेडा पसल’ र बर्मझियाको पेडा पसलमा कुनै भिन्नता रहेनछ भन्ने कुरा धेरैले बुझिसकेका छन् । हेर्दाहेर्दै ‘ओली-प्रचण्ड पेडा पसल’ ग्राहकविहीन पनि हुन सक्छ है !

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]