राजविराज सप्तरी – सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाको वडा नं. १ मा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला, र अति विपन्न परिवारलाई शीतलहरबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीको आयोजनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ९२ जनालाई न्यानो कम्बल वितरण गरियो।
कार्यक्रममा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव प्रमुख अतिथि रहेका थिए साथै, सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, र वडा नं. १ का वडा अध्यक्ष बलराम यादवको उपस्थिति रहेको थियो।
सीडीओ भोला दाहालले जाडोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट बच्न यस्तो सहयोग कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले शीतलहरको मारमा परेका विपन्न वर्गका मानिसहरूलाई आवश्यक सहयोग निरन्तर प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले जाडोको कठ्याङ्ग्रिने चिसोमा गरिब र असहाय व्यक्तिहरूलाई सहयोग पुर्याउने यो कार्य सराहनीय रहेको बताउनुभयो। साथै, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति र प्रशासनलाई धन्यवाद दिनु भएको छ।
कार्यक्रमको सञ्चालन वडा नं. १ का वडा अध्यक्ष बलराम यादवले गर्नुभएको थियो। उहाँले यो सहयोगले स्थानीय जेष्ठ नागरिक र विपन्न परिवारलाई शीतलहरको कहरबाट राहत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। यस प्रकारका सहकार्य र सहयोग कार्यक्रमले समाजका कमजोर वर्गप्रतिको दायित्व पूरा गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।