सप्तरी – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले बिहीबार राष्ट्रिय टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ । यससँगै राष्ट्रिय टिमका खेलाडीको तलब वृद्धि गरी मासिक १८ हजार रुपैयाँ पुर्याइएको छ ।
बैठकले महिला खेलाडीको तलबमा मासिक ११ हजार वृद्धि गरेको हो भने पुरुष खेलाडीलाई दिइँदै आएको तलबमा ३ हजार थप्ने निर्णय गरेको हो । यसअघि एन्फाले पुरुष टिमका खेलाडीलाई मासिक १५ हजार र महिला खेलाडीलाई ७ हजार दिइरहेको थियो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को महिला खेलाडीको सेवा–सुविधामा आमूल परिवर्तन गर्ने अभियानपछि एन्फाले पनि महिला खेलाडीको तलब वृद्धि गरी पुरुषको बराबर बनाउने निर्णय गरेको हो । यसबाट सिनियर राष्ट्रिय टिमका खेलाडीलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।त्यस्तै, एन्फाले कोरोना भाइरसको महामारीको कारण स्थगित गरिएको साधारणसभा माघ ६ गते गर्न राष्ट्रिय खेलकुद परिषद्मा स्वीकृतिका लागि पत्र पठाउने निर्णय पनि गर्यो ।बैठकले राष्ट्रिय लिग, महिला राष्ट्रिय लिग, एन्फा प्रेसिडेन्ट लिग, सहिद स्मारक ‘बी’ डिभिजन लिगलगायत प्रतियोगिताहरू आयोजनाका लागि पनि परिषद्मा स्वीकृति माग्ने निर्णय पनि गर्यो । राजधानीको ‘बी’ डिभिजन लिग सञ्चालन हुँदाहँॅदै महामारीका कारण चैत पहिलो साता रोकिएको थियो । त्यसयता एन्फाले राष्ट्रिय टिमलाई मैदानमा उतारे पनि घरेलु प्रतियोगितालाई ब्युँताउन सकेको थिएन ।
बिहाबार दस घण्टा चलेको बैठकले कास्कीमा एन्फा बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणका लागि टेन्डर आह्वान गर्ने, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फ्लडलाइट जडान गर्ने, फुटसल र बिच सकर प्रतियोगिता गर्ने निर्णय गर्यो ।