१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर २५, २०७७

सप्तरी – वार्षिक साढे ६ अर्ब(चार अर्ब भारु) रुपैयाँ बराबरको जस्तापाता निकासी गर्ने आरती स्ट्रीप्स व्यवसायिकरूपमा कमजोर भएपछि संकटमा घेरिएको छ। कारोबार ओरालो लाग्न थालेपछि भारतीय लगानीकर्ताले उद्योग नै बन्द गर्ने संकेत दिएका छन्।

मालिक अनित्य सिंघलले कागजी सञ्चालकद्वय अश्विनी शर्मा र विशाल गुप्ताको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै उद्योग बन्द गर्ने संकेत दिएको स्रोतले बताएको छ। सिंघलले उद्योग यही अवस्था रहेमा बन्द गर्ने धम्की शर्मा र गुप्तालाई दिएको स्रोतको दाबी छ। सिंघलले दिएको धम्की उद्योग विभागसम्म पनि पुगेको छ। विभागका एक कर्मचारीले आरती स्ट्रीप्समा विवाद रहेको र बन्द हुने अवस्थामा पुग्न लागेको बताएका छन्। ‘निकासी घट्दै गएपछि उद्योगका संचालकबीच विवाद सुरु भएको छ। विवाद यहाँसम्म आइपुगेको छ। उद्योग नै बन्द भए पनि अन्यथा नलिए हुन्छ,’ ती कर्मचारीले बिजमाण्डूलाई भने।तर उद्योगका प्रशासन प्रमुख दिवस नेपालले उद्योग बन्द हुन नसक्ने दाबी गरे। ‘पहिले उद्योगले कच्चा पदार्थ सीआर सिटको पैठारी गर्नुपर्थ्यो। अहिले हामी सीआर सिटको पनि कच्चा पदार्थ एचआर सिटको पैठारी गरेर सीआर सिटको उत्पादन कारखानामै गरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘उद्योगले तीन वर्षअघि सुरु गरेको टिएमटी छडको उत्पादनले बजार जमाइसकेको छ। यसबाहेक उद्योगले अन्य उत्पादनका प्लान्ट पनि लगाइरहेको छ।’उद्योगका सञ्चालक अश्विनी शर्माले भूषण ग्रुपको विघटनपछि भारत सरकारको सुविधा नपाएकाले उद्योगको निर्यातमा ह्रास आएको स्वीकार गरे।शर्माको भनाइ थियो, ‘निर्यातमा अब पहिलेजस्ता दिन छैनन् तर हामी स्वदेशी बजारलाई प्रवद्र्धन गरिरहेका छौं।’

उद्योगको नयाँ संचालकको प्रवेश;
२०७४ सालपछि आरतीका दुर्दिन सुरु भए। उद्योगको भारतीय लगानीकर्ता बहुराष्ट्रिय कम्पनी भूषण ग्रुप टाट पल्टियो। भारत, अफ्रिका र अन्य धेरै देशमा भएका भूषण ग्रुपका उद्योग बन्द भए। भारतमा भूषण ग्रुपले व्यवसाय नै गर्न नसक्ने अवस्थाको सृजना भयो। तर नेपालको आरती स्ट्रिप्स बन्द भएन। भूषण ग्रुप नेपालको कमजोर तथा भ्रष्ट प्रशासनिक र राजनीतिक संयन्त्रको फाइदा उठाउन सफल भयो। फलतः कम्पनी रजिस्ट्रार कार्यालयमा उद्योगका सञ्चालकमा भूषण ग्रुपका मालिक सञ्जय सिंह, अनित्य सिंघल र अनिकेत सिंघलको नाम झिकियो। यसपछि उद्योगमै कार्यरत तीन भारतीय कर्मचारीका नाममा उद्योगको स्वामित्व सारियो।उनीहरू सञ्जीव शर्मा, अश्विनी शर्मा र विशाल गुप्ता थिए। यसमध्येका सञ्जीव शर्मा गत वर्ष मृगौलाको रोगबाट गम्भीर बिरामी भए। उनी भारत नै फर्किए। यसपछि हाल आरती स्ट्रीप्स अश्विनी र विशालका नाममा मात्र सञ्चालित छ। कागजमा देखाउन अश्विनी र विशाल मालिक भए पनि सिंहल परिवारका सदस्य आरतीमा बारम्बार आइरहन्छन् र लाभांश लिएर जान्छन्।

उद्योगको दुर्दिन;
नेपाल र भारत दुवै मुलुकबाट दोहोरो सुविधा नपाएपछि भारतीय लगानीको आरती स्ट्रिप्स उद्योगको निर्यात घट्न थाल्यो।कुनै समय सन् २००४ र २००५ ताका वार्षिक भारु चार अर्बसम्मको जस्तापाता भारततर्फ निर्यात गरेको आरतीको निर्यात गत आर्थिक वर्षमा आइपुग्दा भारु ६५ करोड ७९ लाखमा झरेको छ।आरतीले पाँच वर्षयता निर्यातको विस्तारलाई आक्रामक बनाउँदै जस्तापाता अतिरिक्त जीआई पाइप, एमएस ब्ल्याक पाइप, आरपीजी क्वाइल र पिपिजीआई क्वाइलजस्ता निर्माणका फलामे सामग्रीको निकासी गर्न थालेको छ। अर्कातिर समग्र निकासीको मूल्य भने नराम्ररी खस्किएको छ।उद्योगको निकासी आर्थिक वर्ष २०७१/७२ देखि घट्न थालेको हो। त्यस बेलासम्म आरतीले जस्तापाताको मात्र निकासी गरिरहेको थियो। २०७२ बैशाख १२ मा ठूलो भूकम्प आएपछि नेपाल सरकारले जस्तापाता निकासीमाथि बन्देज लगायो।काँकडभिट्टा र विराटनगर भन्सारको तथ्यांक जोड्दा भूकम्प अघिको आर्थिक वर्ष २०७०/७१ मा उद्योगले भारु ३ अर्ब ८० करोडको निकासी गरेको थियो। तर २०७२ वैशाखमा जस्तापाता निर्यातमा लगाइएको प्रतिबन्धका कारण आर्थिक वर्ष २०७१/७२ को निर्यातको मूल्य भारु २ अर्ब ७९ करोड १५ लाखमा खुम्चियो।

जस्तापाताको निर्यात गर्न नपाएपछि उद्योग अन्य फलामे सामग्रीको निकासीतर्फ मोडियो। तर निर्यातमा गरेको विविधीकरण पनि काम लागेन। निर्यातको अंक वृद्धि भएन बरु झन्–झन् घटिरह्यो। आर्थिक वर्ष २०७२/७३ मा उद्योगले भारु १ अर्ब ३७ करोड १७ लाखको मात्र निर्यात गर्नसक्यो।नेपालले २०७३ साउनमा जस्तापाताको निर्यातको प्रतिबन्ध त हटाइसकेको थियो तर यस वर्ष आरतीको उत्पादनको अधिकांश हिस्सा स्वदेशमै खपत भयो। भूकम्पपछिको पुनर्निर्माणमा उद्योगले उल्लेख्य कारोबार गर्‍यो।

आयात/निर्यातमा यस्तो थियो ‘ट्रिक’;
सरकारले कर्कट पाताको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्‍यो। तर भारतमा ग्रुप नै विघटन भएपछि खेलोफड्को गर्न नपाएपछि आरतीको निर्यात पूर्ववत् जम्न सकेन।आरतीले त्यसबेला कर्कटपाता उत्पादन गर्ने प्रयोग गर्ने मुख्य कच्चा पदार्थ सीआर सिट थियो। यो आरतीकै लगानीकर्ता भारतको भूषण स्टिल इन्डस्ट्रिजबाट आयात गरिन्थ्यो। भूषण ग्रुपबाट सीआर सिटको आयात गर्दा आरतीले अमेरिकी डलरमा गर्थ्यो। उता अमेरिकी डलरमा कच्चा पदार्थको निकासी गरेबापत भूषण ग्रुपले भारत सरकारसँग ८ प्रतिशत इन्सेन्टिभ लिन्थ्यो। यता आरतीले तयारी जस्तापाता भारतकै भूषण ग्रुपलाई निर्यात गर्थ्यो। कच्चा पदार्थ परिवर्त्य विदेशी विनिमयमा पैठारी गरेको आरतीले जस्तापाताको निकासी चाहिँ भारतीय मुद्रामा गर्थ्यो। यसरी भारतको भूषण समूह कच्चा पदार्थ डलरमा निकासी गर्ने अनि तयारी मालवस्तु भारुमा आयात गर्ने दोहोरो फाइदामा थियो। नेपालबाट निकासी गरेपछि उद्योगले नेपाल सरकारलाई बुझाउनुपर्ने भन्सार महसुल र आयकर लगायतका राजस्वमा पनि आकर्षक छुट थियो। तर २०७४ सालको आरम्भसँगै भारतमा भूषण ग्रुपको विघटनको सुरुआत भयो। यसपछि यो समूहले आयात/निर्यातमा यस्तो मौद्रिक चालबाजी गर्न सकेन। अन्ततः निर्यात खस्किइरह्यो।

फलतः आर्थिक वर्ष २०७३/७४ को समग्र निर्यातको मूल्य अघिल्लो आवको भन्दा सवा करोडले कम भारु १ अर्ब ३४ करोड ४३ लाख हुन पुग्यो। त्यसपछिको निर्यात लगातार घट्दो क्रममा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]