सप्तरी – प्रतिबन्ध हटाएसँगै सामाजिक सञ्जाल टिकटक खुलेको छ । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
त्यसको केही बेरपछि नै बिहीवार साँझदेखि टिकटक चल्न थालेको हो ।टिकटक खुलेपछि नेतादेखि सर्वसाधारणसम्मले खुसी व्यक्त गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारले गरेको निर्णयको स्वागत गरेका छन् । प्रतिबन्ध खुलेपछि टिकटकमै भिडियो सन्देश जारी गर्दै उनले स्वागत गरेका हुन् । यस्तै कतिपय सर्वसाधारणले पनि टिकटक खुलेकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सद्भाव बिगारेको तथा अश्लीलता प्रदर्शन भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लागेको हो ।
नौ महिनापछि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने निर्णय लिएको छ । सरकारले प्रतिबन्ध खुलाउँदै गर्दा टिकटकमाथि केही शर्त भने लगाएको छ ।
‘टिकटकले नेपालको प्रचलित ऐनबमोजिम सामाजिक सञ्जालमा सूचीकृत हुनुपर्ने छ । साथै, नेपालको पर्यटन प्रवद्र्धनलगायत विषयमा सहयोग गर्नुपर्नेछ,’ मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने । तर शर्त राखिए पनि टिकटकमाथिको प्रतिबन्ध हटेको उनले जानकारी दिएका थिए ।
यसअघि कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले पनि शर्तसहित टिकटक खुलाउने निर्णय भएको के छ खबरलाई जानकारी दिएका थिए । ।टिकटक कम्पनीलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनको भनाइ थियो ।
‘सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । यसका लागि नियमन गर्न तीन महिनाको परीक्षणकाल राखिएको छ,’ उनले भनेका थिए ।