रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकेको भन्दै स्थानीयवासीले थालेको अनिश्चितकालिन रिले अनशनलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समर्थन जनाएका छन् ।
राजविराज नगरपालिका वडा नम्बर १० विरौलका स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा प्रतिष्ठानको निर्माणस्थलमा थालिएको अनिश्चितकालीन अनशनमा महासंघका अध्यक्ष श्रवण कुमार देव सहितका टोली अनशन स्थल पुगी समर्थन जनाएका हुन् ।
अनशनकारी बस्न बनाएको समान्य त्रिपालको छानो र बस्नको लागी पनि सामान्य त्रिपाल रहेकाले प्रत्येक दिन अनशनकारी बिरामी हुनलागेको संयोजक दासले बताए । अनशन शुरु गरेको दिन देखि विभिन्न माननीय, मन्त्री लगायत उच्चतहका व्यक्तिले समर्थन जनाए पनि व्यवस्थापन प्रति कसैले ध्यान नदिएको दासले सुनाए । प्रतिष्ठान निमार्णमा राजविराज नगरपालिकाको पूर्ण अधिकार रहे पनि अनशन थाले पछि कुनै पनि जनप्रतिनिधिको समर्थन र सहयोग नरहेको दासले बताए ।
प्रतिष्ठानले घेरेको ६२ बिघा जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको दासले बताए । सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेका छन् ।