राजविराज । सप्तरीमा पत्रकारमाथि हातपात गर्ने दुई जनालाई सप्तरी प्रहरीले गिरफ्तार गरेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ढुण्डीराज न्यौपानेले पत्रकार कुट्ने दुई जनालाई विहिवार साँझ नियन्त्रणमा लिएको जानकारी दिए ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नपाका अमरेन्द्र यादव र अनिल यादव छन। दुई दिनअघि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पाेखरी ठेक्का सम्बन्धि भईरहेकाे आन्दोलनकाे समाचार संकलन गर्न पुगेका रेडियो नेपालका सप्तरी संवाददाता संजिवविक्रम साहमाथि यादवद्वयले दुर्व्यवहार गर्दै हातपात गरेका थिए ।
हातपात पश्चात नगरपालिका कार्यालयमै झण्डै चार घण्टा थुनिनु परेका पत्रकार साहलाई प्रहरीको सहयोगमा बुधबार अबेर राति राजविराजबाट नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव नेतृत्वकाे पत्रकार टाेलीले डाक्नेश्वरीबाट उद्वार गरेर राजविराजस्थित घर पुर्याइएका थिए ।
उक्त घटनापश्चात विहिवार पीडित पत्रकार साहले जिल्ला प्रहरी कार्यालयमा दिएको लिखित उजुरी र नेपाल पत्रकार महासंघले कुटपिट गर्नेमाथि कानुनी कारबाहीको मागर गरे अनुसार सप्तरी प्रहरीले कारबाही अगाडि बढाएकाे हाेे ।
पक्राउ परेका अमरेन्द्र भने जनमत पार्टीका डाक्नेश्वरी नगरका युवा इन्चार्ज हुन् ।
यसैबीच पत्रकार कुटिएको घटनालाई छानबिन गर्नकोलागि जनमत पार्टीको केन्द्रीय कार्यालयले जिल्लास्थित इन्चार्जलाई निर्देशन दिएकाे छ। “यस क्रममा दोषी देखिएका जोकोहीलाई पनि पार्टीले कारवाही गरिनेछ”, जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले भने ।