राजबिराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज संचालन गर्न माग गर्दै सप्तरी युथले राजबिराजमा प्रदर्शन गरिएको छ ।
बुधवार राजबिराजमा सप्तरी युथ नेपाल निर्माणको माँग गर्दै नगरको विभिन्न ठाउमा प्रदर्शन गर्दै जनआन्दोलन चौकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा मैथिली साहित्य परिषदका अध्यक्ष तथा सञ्चारकर्मी अबधेश झाले प्रतिष्ठानको निर्माण कार्य अविलम्व सुचारू गर्नु पर्ने भन्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाएका थिए।
यसैगरी सप्तरी युथका उपाध्यक्ष मोहन यादबले प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माँग गरे । त्यस्तै कोण सभामा जसपाका युवा नेता सतेन्द्रयादब, युवा नेता खेलानन्द दास, लगायतका युवाहरूले निर्माण कार्य संचालन गर्नुपर्ने भन्दै अनिश्चितकालीन अनशन प्रति ऐक्यवद्धता जनाएका थिए।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १० विरौल स्थानीय समाजसेवी रामकुमार दासको नेतृत्वमा प्रतिष्ठानको निर्माणस्थल विरौलमा शुक्रबारदेखि स्थानीयले अनिश्चितकालीन अनशन सुरु गरेका छन् ।
प्रतिष्ठानको निर्माणको कार्य ठप्प पार्दै अन्य काम समेत रोकिएकोले अविलम्ब कामकाज सुचारु गर्नुपर्नेलगायतका विभिन्न पाँच सूत्रीय माग राखी अनशन सुरु गरेको संघर्ष समितिका संयोजक दासले बताए ।
६२ बिघा जग्गा प्रतिष्ठानले घेरेको जानकारी दिदै उनले ठुलो एरिया जग्गा खाली भएको हुँदा टोलमा डर लाग्दो अवस्था सिर्जना भएको बताए । ठुलो क्षेत्र जग्गा ओगटेर कामकाज संचालन नरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनै आन्दोलनका संयोजक समेत रहेका दासले स्थानीयको संघर्षको कार्यक्रममा पत्रकार, समाजसेवी, बुद्धिजीवी, व्यापारी, राजनैतिक दल, संघसंस्था, शिक्षा प्रेमी, स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मी लगायतका आम जनतालाई सहभागी भई सहयोगका लागी आग्रह समेत गरे ।
सप्तरी सहित अन्य जिल्लाहरूको आर्थिक, सामाजिक शैक्षिक लगायतका वृहत हित गर्ने प्रतिष्ठानको कामकाज अविलम्ब चालू गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट गठन आदेश बमोजिम गठित पूर्वाधार विकास निर्माण समितिको म्याद थप गर्नुपर्ने, प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीहरू तुरुन्त नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि तुरुन्त आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माणलगायतका अन्य कामहरू अविलम्ब सुचारु गर्नुपर्ने माग राखी अनिश्चितकालीन अनशन सुरु गरेको स्थानीयले जनाएका छन् ।
एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मधेश प्रदेशको मन्त्री परिषदको बैठकले राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो ।
जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । तर शिलान्यासको दुई वर्ष भन्दा बढी समय बितिसक्दा पनि जग्गालाई तार जालीकेघेरबेरबाहेको काम नभएको स्थानीयको भनाई छ ।
गजेन्द्र नारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय त छ तर अध्यक्ष विहीन । समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि एक वर्ष यता कार्यालयको कार्यकारी निर्देशकको पद समेत रिक्त छ ।
त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्याद समेत थप गरिएको छैन् यद्यपि उनीहरु आश्वासनकै भरमा कार्यलय आउने गर्छन् ।