काठमाडौं – कार्तिक शुक्ल पूर्णिमाका दिन आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज साँझ ५ः११ बजे शुरु हुने ग्रहण ६ः३४ मा सकिनेछ । सूर्यास्त भएपछि साँझ ०५ः१३ बजे ग्रहण स्पष्टरूपमा देखिने छ ।
ग्रहण लागेर चन्द्र उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको पञ्चाङ्गसम्बन्धी जानकार बताउँछन् । यस्तै, ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
नेपालसहित एशियाको अधिकांश स्थानबाट चन्द्रग्रहण देखिने छ। त्यस्तै अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट पनि यसलाई हेर्न सकिने बताइएको छ ।
चन्द्रग्रहणको ९ घन्टाअघि सुतक लाग्ने धर्मशास्त्रमा उल्लेख गरिएको यससम्बन्धी जानकार बताउँछन् । यसआधारमा आज बिहान ८ः११ बजेदेखि ग्रहण नसकिँदासम्म भोजन निषेध गरिएको छ । धर्मशास्त्रमा सुतककालमा भोजन निषेध गरिएको छ ।