सप्तरी – सप्तरीकाे राजविराज स्थित एक निजी औषधी पसलमा बुधवार उपचारको क्रममा ३५ वर्षिया एक महिलाको मृत्यु भएको हाे ।
राजविराज नगरपालिका ६ स्थित अजित फार्मेसीमा ,रुपनी गाउँपालिका २ पौँवा निवासी रामचन्द्र मण्डलको पत्नी सियादेवी मण्डलको उपचारकै क्रममा बुधवार दिउँसो मृत्यु भएको हाे ।
श्रोतका अनुसार बिरामी परेर उपचार गराउन आएकी मण्डलको उपचार कुनै चिकित्सकबाट नभई पि सि एल नर्सिङ्ग गरेका प्रमिला साह नामगरेकी एक स्वास्थयकर्मी र पसलमा काम गर्नेबाट उपचार हुँदा उनको मृत्यु भएको हो ।
औषधी पसलमै महिलाको मृत्यु भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरी निरीक्षक नेतृत्वको टोलीले स्थलगत घटनाको अनुगमन गरेको थियो । तर, प्रहरीले घटना सम्बन्धी अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
उक्त औषधी पसल सञ्चालकलाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ । स्थानीयले दिएको जानकारी अनुसार उक्त औषधी पसलका सञ्चालक सुनिल यादव हुन् । यादवसँगै उनका छोरा र आमासमेत सोही औषधी पसलमा बस्दै आएका थिए ।
केही वर्षअघि एक हत्या मुद्दामा जेल सजाय पाएका यादव राष्ट्रपतिको सिफारिशमा दश वर्ष कारागार जीवन बिताएर फर्किएका थिए । यसैबीच रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव सदरमुकाम राजविराज पुगेर घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घटनाको थप अनुसन्धान भईरहेको र मृतकको शवलाई पोष्टमार्टमकालागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जानकारी दिए ।