
विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक रविनराज सिंहले प्रयोग गर्दै आएको बुलेट मोटरसाइकलमा आगजनी गरिएको छ ।
आगजनी गर्नेको पहिचान खुलेको छैन । अस्पताल परिषरमा पार्किङ गरेर राखेको को २५ प ५०२४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो । मोटरसाइकलमा बल्दै गरेको आगो अर्का चिकित्सक प्रवीण झाको सहयोगमा निभाएको सिंहले बताए ।
अस्पतालका कन्सलटेन्ट सर्जन डा. सिंहले बिहीबार राति ९ः३० बजेतिर पार्किङ गरेर मोटरसाइकल राखिएको जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान २ः३० बजेतिर मोटरसाइकलमा आगो बल्दै गरेको देखिएको हो ।
उक्त मोटरसाइकल २०७८ मंसिर २८ गते चोरीसमेत भएको थियो । चोरेर भारत कटाउनै लागेको अवस्थामा मटेरुवाबाट प्रहरीले बरामद गरी मोटरसाइकल फिर्ता गरेको हो । मोटरसाइकल चोरीमा संलग्न प्रतीक दाहाललाई पनि प्रहरीले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आगजनी गर्नेको पहिचान खुल्न नसकेको र विभिन्न कोणबाट अनुसन्धान थाल्दै घटनामा संलग्नको खोजी तीव्र पारिएको जानकारी दिए । उनका अनुसार आगोले जलेका कारण मोटरसाइकलको धेरै भागमा क्षति पुगेको छ ।