२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १३, २०७९

दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण भएको छ। तुइन विस्थापनअन्तर्गत महाकाली नदीमाथि पुल निर्माण गरिएको हो।

झोलुंगेपुल बनेपछि जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ। मालिकार्जुन –६ का तेजबहादुर चन्दले भने, ‘बल्ल अहिले आएर पुल निर्माण भयो। निकै खुसी लागेको छ।’

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चारवटा झोलुङ्गे पुल निर्माण गरिरहेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गरे। व्याँस –६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरेका छन्।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका छन्। व्याँस –६ का कलावती भट्टले तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताए। वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका उनी बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी भएका छन्।

‘कयौँ बर्खा यो महाकाली नदीमा स्थानीय अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन,’ उनले भने।

व्याँस –६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ।

मालिकार्जुन–६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको देख्दा खुसी लागेको बताए । ‘अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ । बाकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ,’ खुसी हुँदै उनले भने।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताए। ‘अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन । दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ।’

व्यास –४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो साता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्याँस गाउँपालिका–२ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ।

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता भएको थियो।

पुल उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताए। ‘अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नु पर्दैन।’

भारत पिथौरागढका डिएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताए। उनले भने, ‘नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो । सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ।’

पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]