
बैतडीको पुर्चौंडी नगरपालिकाले नगर क्षेत्रभित्रका सहिद परिवारलाई वार्षिक रुपमा निर्वाह खर्च दिने भएको छ।
नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारलाई सम्मानस्वरुप वार्षिक रुपमा निर्वाह खर्च स्वरुप २५ हजार रुपैयाँ दिने भएको हो।
नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बमले सहिद परिवारलाई वार्षिक रुपमा एकमुष्ट २५ हजार रुपैयाँ निर्वाह खर्च दिने निर्णय गरिएको जानकारी दिए।
उनले सशस्त्र द्वन्द्वमा घाइते भएकाहरुका लागि निःशुल्क उपचार प्राप्त हुने गरी स्वास्थ्य बिमा गरिने पनि बताए।
नगरपालिकाले साउन १ गतेबाट पुर्चौंडी हाट स्वास्थ्य चौकीबाट एक्स-रे तथा भिडिओ एक्स-रेसहितको चिकित्सकीय सेवा सुरु गरेर ज्येष्ठ नागरिक तथा दीर्घ रोगीका लागि निःशुल्क परीक्षण तथा उपचारका लागि गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित विद्यालयहरुमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई अध्ययन अध्यापन निःशुल्क गर्न विद्यार्थी भर्ना तथा पठनपाठन शुल्क बापत हुन आउने रकम सोधभर्ना दिने भएको छ।
नगरपालिकाले १० वटै वडाहरूमा विद्युत विस्तार गरेर २ वर्षभित्रै उज्यालो पुर्चौंडी घोषणा गर्ने पनि लक्ष्य राखेको छ।