२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १२, २०७९

चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकद्वारा गरिएको यौन दुव्र्यवहार प्रकरणमा अभियुक्तहरू उम्किने चिन्ता बढेको छ।

अभियुक्त शिक्षकहरू राजनीतिक पहुँचका आधारमा उम्किने चिन्ता पीडित छात्रामा बढेको देखिएको छ। यो विषयमा नागरिक दैनिकले पीडित छात्राहरुसँग कुरा गरी समाचार प्रकाशित गरेको छ ।

‘धेरै पहिलादेखि डरले यो कुरा लुकाएका थियौं। कसैलाई नभन्नु भनेर उहाँले धम्की पनि दिनुभएको थियो’ पीडित एक छात्राले भनिन्, ‘फेरि उहाँहरूको सम्बन्ध पनि ठूलै ठाउँमा छ भन्ने सुनेपछि डर लाग्यो। अति भएपछि बाध्य भएर साथीलाई भनेकी हुँ।’

घटना बाहिर ल्याउँदा दोषीहरू उम्किने चिन्ता उस्तै रहेको ती छात्राले सुनाइन्। ‘नेताले चाहेमा ठूलै अपराधी बचाउन सक्छन् भन्ने सुनेकी छु। उहाँहरूको पहुँच पनि ठूलै मन्त्रीसँग छ रे ! त्यसैले आफूले पाएको पीडा पोख्दा पनि न्याय पाइन्न कि?’, उनले चिन्ता व्यक्त गरिन्।

अभियुक्तमध्येका शिक्षक जनार्दन अधिकारी पूर्वमन्त्री गोकुल बास्कोटा सूचना, प्रविधि तथा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा मिडिया विश्लेषकका रूपमा नियुक्त भएका थिए। उनी पूर्वमन्त्री बास्कोटाकै गृह जिल्लाका बासिन्दा हुन्। उनको स्थायी ठेगाना भुम्लु गाउँपालिका १ रहेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री बास्कोटा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन्। यही कारण बास्कोटाकै आडभरोसा पाएका अधिकारीले कलेजमा पनि रबाफ देखाउने गरेको कलेजका कर्मचारी र विद्यार्थी बताउँछन्।

‘मन्त्रीको विज्ञ सल्लाहकार पनि भइसकेको मान्छे भन्दै कलेजमा उहाँको धाक चल्थ्यो’ एक विद्यार्थी भन्छन्, ‘कलेजका सबै सर र म्याडम पनि उहाँलाई रेस्पेक्ट गर्थे। हामी पनि ठूलै मान्छे मान्थ्यौं।’

उनै शिक्षकबाट लामो समयदेखि यौन दुव्र्यवहारको सामना गर्दा मानसिक तनाव भएको पीडित छात्राले बताइन्। ‘सुरुमा त हामीले उहाँलाई नै प्रिन्सिपल मानेका थियौं। उहाँबाट केही कुरा सिकिन्छ भनेर फेसबुकमा फ्रेन्ड बनाएँ तर उहाँ त फोहोर कुरा गर्न थाल्नुभयो’ उनले भनिन्, ‘त्यसपछि म्यासेन्जर नै ब्लक गरें। त्यसपछि उहाँ भौतिक रूपमै ममाथि दुव्र्यवहार गर्न थाल्नुभयो।’

म्यासेन्जर च्याटमा अश्लील कुरा गर्ने, नग्न तस्बिर माग्ने, बेड पार्टनर अफर गर्ने, लोभलालच देखाएर आफ्नो यौनतृष्णा पूरा गरिदेऊ भनेर ती शिक्षकले आफूमाथि दुव्र्यवहार गर्दै आएको ती छात्राले बताइन्। कुराकानीका क्रममा पीडित छात्राले ती कुरा खोल्न सकिनन्।

उनका कुरा उनकी साथीले यसरी सुनाइन्, ‘कसैसँग बेन्चमा बसेका बेला त्यहाँ नबस’, ‘तिमीलाई बेन्चमै सेक्स गर्दिन्छु’, ‘विल यु बी माई बेड पार्टनर ?’ लगायतका यौन दुव्र्यवहारजन्य शब्द उहाँ प्रयोग गर्नुहुन्छ।

ती छात्राले साथी र परिवारसँग यस्ता यौनदुव्र्यवहारका कुरा खोलेपछि अन्य दुई छात्राले पनि आफूमाथि भएको यौन दुव्र्यवहारका कुरा खोलेका छन्। तीमध्येकी एक अर्की छात्राले अर्का शिक्षक राजनकुमार पौडेलमाथि आरोप लगाएकी छन्। उनी कक्षा ११ का नेपाली विषयका शिक्षक रहेको विद्यार्थीको भनाइ छ।

उनले कोभिड १९ का बेला अनलाइन क्लास हुँदा पौडेलले आफूलाई रिक्वेस्ट पठाएको र त्यसपछि आफूमाथि अश्लील शब्द प्रयोग गरेर कुराकानी गरेको बताइन्। ‘त्यसपछि मैले म्यासेन्जर ब्लक गरेकी थिएँ। डरले त्यतिबेला ती कुरा कसैलाई भनिनँ’ उनले भनिन्, ‘पछि क्लास सुरु हुँदा उहाँ कक्षाकोठा र अफिसमै मेरो पिठ्यँुमा हात राखेर मसार्ने र मिनिस्कटमा सेक्सी देखिन्छौ भन्ने गर्न थाल्नुभयो।’

सरको त्यस्तो व्यवहारले आफूलाई निकै मानसिक तनाव भएको उनले दुखेसो पोखिन्। ‘पछि त म नेपाली पढाइ हुँदा बिरामी कक्षमा गएर बस्न थालें। केही साथीलाई यो कुरा थाहा छ। हिजो (मंगलबार) दुईजनाले बोलेपछि म पनि बोलेकी हुँ’, उनले भनिन्।

यसरी छात्राहरू मंगलबार शिक्षकका दुव्र्यवहारविरुद्ध बोलेपछि विद्यालयमा नाराबाजी भएको थियो। त्यसपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी टोली गएर जाहेरीका लागि भनेपछि तीनजना छात्राले शिक्षकहरू अधिकारी र पौडेलविरुद्ध जाहेरी दिए। प्रहरीले दुवैलाई पक्राउ गरिसकेको छ।

विद्यार्थीका अनुसार ती दुई मात्र नभई अन्य शिक्षक पनि छात्रामाथि दुव्र्यवहार गर्ने कार्यमा संलग्न छन्, तर उनीहरू साथीहरूसँग खुले पनि मुद्दा गर्ने स्थितिमा छैनन्।

‘सरहरूले पहिलेका दिदीहरूलाई पनि यस्तै गर्नुहुँदो रहेछ। विदेश पुगेका ती दिदीहरू अहिले हामीसँग कुरा गर्नुहुन्छ’ एक विद्यार्थीले भनिन्, ‘उहाँहरू पहिले आफूलाई पनि सरहरूले दुव्र्यवहार गर्ने गरेको बताउनुहुन्छ। कारबाही गराइछाड भन्नुहुन्छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]