
गएराति दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना भन्दा धेरै घाइते भएका छन्।
बुधबार राति दैलेखको आठविस नगरपालिका-२ सिस्नेमा म १ ख ६६० नम्बरको बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस मुगुबाट नेपालगञ्ज जाँदै थियो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार मृतकको सनाखत हुन बाँकी छ। धाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
घाइते ३४ जनाको आठबीसकै मेडिकलमा उपचार भइरहेको छ। २३ जनालाई थप उपचारको लागि सुर्खेतको प्रदेश अस्पतालमा रिफर गरिएको छ। प्रहरीका अनुसार रातको समयमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो।
खचाखच यात्रुले भरिएको बस तीव्रगतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।
बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली किनारमा पुगेको छ। घटनाको थप विवरण आउन बाँकी छ।