जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको टोट्केसाल नजिक मलामीसहितको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुधबार भएको दुर्घटनामा १८ जना घाइते भएका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३५ वर्षीय तारा धमला र ४४ वर्षीय अमरनाथ धमलाको मृत्यु भएको अछाम प्रहरीका इन्सपेक्टर कैलाशसिंह विष्टले जानकारी दिए ।
अमरनाथको घटनास्थलमै र ताराको जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा घाइते भएका १८ जनाको जिल्ला अस्पताल मंगलसेन ल्याएर उपचार भइरहेको छ ।
घाइते हुनेमा सोही वार्ड निवासी दिनेश तिमिल्सेना र जोगी देवकोटालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । कृष्ण धमाला, हरिप्रसाद तिमिल्सेना, देवराज तिमिल्सेना, गौरी धमला, टंक धमला, श्रीप्रसाद जैसी, मदन धमला सामान्य घाइतेको अछाम अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै सामान्य घाइते भएर अछाम अस्पतालमा गंगाराम देवकोटा, चेतराज ढकाल, दीपक देवकोटा, विष्णु धमला, चक्र धमला, मदन देवकोटा, चक्रप्रसाद सञ्ज्याल रहेका छन् ।
मध्यपहाडी सडकको बेलखेत–विनायक खण्डको वयाला जाने सडक नजिकको मोड नजिक ट्याक्टर दुर्घटना भएको बेलखेत प्रहरी चौकीले जानकारी दिएको छ । ट्याक्टर चालक पञ्चदेवल विनायक नगरपालिका–८ निवासी हिरालाल विकलाई नियन्त्रमा लिएको अछाम प्रहरीले जानकारी दिएको छ ।