
काठमाडौंका सडक र गल्ली गल्लीमा फोहोरको डङ्गुरले दुर्गन्ध फैलिनुका साथै सरुवा रोग फैलिने जोखिम बढेको छ । पछिल्ला दिनहरुमा वर्षाका कारण झन् सङ्क्रमणजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
त्यसमाथि यो मौसममा विभिन्न सङ्क्रमणजन्य रोग देखिने समय नै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । विशेष गरी गर्मी र प्रि मनसुन तथा मनसुनमा झाडापखाला, हैजा, मलेरिया, डेंगु, हेपटाइटिस ए र इ, चिकुनगुनिया, लेप्टोस्पाइरोसिस, कालाजार, टाइफाइड, ठेउला, दादुरा, रुघाखोकी, आउँ लगायतका रोग देखिने गर्छन् ।