नेपाल प्रहरीको जनपदतर्फ प्रहरी निरीक्षकमा सिधै भर्ना हुने पहिलो महिला हुन् पूजा सिंह। २०४९ साल चैत ११ गते २९ जना प्रहरी निरीक्षक भर्ना हुँदा २८ जना पुरुष थिए।
यो ब्याचबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन्। बाँकी ८ मध्ये ७ एआईजी पुरुष नै छन्। पूजासिंह जनपदतर्फकी पहिलो महिला एआईजी हुन्। प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन्। प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन्।
सुरुमा प्राविधिक तर्फ सई रहेकी पार्वती थापा र असई रहेका बिमला थापा भने जनपदतर्फ डीआईजीसम्म पुगेका थिए। पार्वती थापा भने आईजीपीको लाइनमा थिइन्। सरकारले त्यतिबेला उपेन्द्रकान्त अर्याललाई एआईजीमा बढुवा गरेपछि थापाले आईजीपीका लागि सर्वोच्चसम्म पुगे पनि अन्ततः उनी डीआईजीमै अवकाश हुनु परेको थियो। सर्वोच्च अदालतले उनको मुद्दामा सुनुवाई नगरी अवकास भएपछि २०७४ सालमा रिट खारेज गरिदिएको थियो।
पार्वती र विमलाको अवकाशपछि जनपदतर्फ उच्च तहमा महिला पुग्न सकेका थिएनन्। दुई महिना पहिले पूजा सिंहलाई सरकारले डीआईजी बनाएको थियो। जनपदतर्फ डीआईजीको दरबन्दी नभए पनि प्राविधिकतर्फ रिक्त रहेको डीआईजीमा जनपदतर्फकी सिंह बढुवा भएसँगै विशिष्ट श्रेणीमा पुग्ने अवसर खुल्ला भएको हो।