
दोहा – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका झापाका १७ र सर्लाहीका एक जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरु करिब ५ महिनाअघि मात्र साउदी अरब पुगेर पुगेका थिए ।
काठमाडौँको चक्रपथमा रहेको रिलायन्स रेक्रुइटमेन्ट सर्वेसेज प्रालिमार्फत आएको र सम्झौता अनुसारको काम र तलब नपाएको झापा मेचीनगर-८ का पूर्णकुमार तामाङले गुनासो सुनाए ।
म्यानपावरकी सञ्चालिका सरिता घले र एजेन्ट धकबहादुर राउतलाई प्रति व्यक्ती १ लाख ४० हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई कम्पनीले अलपत्र पारेको हो । साउदीको दमाममा रहेको क्यापीटल फोर सेल्स सप्लायर्स कम्पनीले आफूहरुले काम गरेको पारिश्रमिक नदिएको पीडितहरूले बताएका छन् ।
‘हामीले कम्पनीमा तीन महिना काम गर्यौ, कम्पनीले दुई महिनाको मात्र पारिश्रमिक दिएको छ, एक महिनाको बाँकी छ ,’ तामाङले खबरहबसँग भने, ‘कोठामा बसेको २० दिन भयो। पैसा माग्दा कम्पनीले दिँदैन।’
हाल कम्पनीले काममा नलगाई एउटा लेबर क्याम्पमा राखेको उनीहरुको भनाइ छ । ‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौ, यहाँको पैसाले खानै पुग्दैन ,’अर्का पीडित सर्लाहीका अब्दुल कलामले प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’
आफूहरूको अवस्थाबारे सम्बन्धित म्यानपावरलाई जानकारी गराए पनि कुनै पहल नगरेको बरु उल्टै धम्क्याउने गरेको उनीहरू बताउँछन् । दमामस्थित नेपाली दूतावासलाई जानकारी गराउँदासमेत औपचारिकरुपमा निवेदन लिएर आउन भनेको पीडितहरूले सुनाए।
आफूहरूले काम गरेको तलब दिलाई सकुशल स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरुले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावासलगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।