
जिल्लाको बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८ सय ५ मत प्राप्त गरे ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकराज पौडेलले ६ हजार २ सय ८४ मत प्राप्त गरे । श्रेष्ठले पौडेललाई ५ हजार ५ सय २१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २ सय ९५ मत अन्तरले पराजित गरेका थिए ।
नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १० हजार ९ सय ९८ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ६ हजार ६ सय ४५ मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सीमित भएको छ ।
यसपटक ७ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एकीकृत समावजादी, एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।