
विराटनगर- विराटनगर महानगरपालिकाको मतगणना जारी छ। पछिल्लो पटक मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ हजार २७८ गणना भएको मतको परिणाम सार्वजनिक गरेको छ।
विराटनगर महानगरको मेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा गठबन्धन दलबाट जसपाका अमरेन्द्र यादव चुनावी प्रतिष्पर्धामा छन्। विराटनगरको उपमेयरमा नेपाली कांग्रेसको उम्मेदवारी छैन। नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयरमा उम्मेदवारी दिएका छैनन् भने जसपाको मेयरमा उम्मेदवार छैनन्। तर, मतपत्रमा गठबन्धनका दलका चुनाव चिह्नमा पनि मत परेको छ।
नेपाली कांग्रेसका नागेश कोइरालालाई मेयरमा मत दिनेमध्ये कांग्रेसको उपमेयर पदको कोठामा हालसम्म ११५९ मत परेको छ। गठबन्धनका तर्फबाट तालमेल भई उपमेयरमा जसपाका अमरेन्द्र यादव उठेका छन्। यो पदमा कांग्रेसका उम्मेदवार नै छैनन्। तर वडाबाट प्राप्त मतअनुसार उपमेयरमा भने मत खसेको छ।
माओवादी केन्द्रको हसिँया-हतौडा चुनाव चिह्नमा मेयर तर्फ ४३७ र उपमेयरतर्फ ५२६ मत खसेको छ।
नेकपा एकिकृत समाजवादीको चुनाव चिह्न कलमको मेयरमा ७७ र उपमेयरमा ६६ मत परेको छ। जसपाको चुनावचिह्न ढल्केको छाताको मेयरमा १६८ मत भने खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यस्तो मत अझ बढ्न सक्ने जनाइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले यस्तो मतलाई अर्ध बदरको सूचीमा राखेको छ। उम्मेदवार नै नभएको पदमा २ हजार ४३३ मत परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।