
विराटनगर- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेदवार र दलका कार्यकर्ताले घर–घरै पुगेर मतदातालाई मत हाल्ने तरिका सिकाउन थालेका छन् । अघिल्लो निर्वाचनमा अधिकांश स्थानीय तहमा बदर मदको संख्या अधिक थियो ।
चुनावी घरदैलोसँगै राजनीतिक दलले मतदाताका घर–घरमा पुुगेर मत हाल्ने तरिका सिकाउन थालेका हुन् । मोरङमा ढिलो गरेर मत पत्र आएकाले पनि मतदाताहरूलाई समयमै सिकाउन नसकिएको दलका प्रतिनिधिहरू बताउँछन् ।
२०७४ सालको निर्वाचनमा विराटनगरमा २० प्रतिशत मत बदर भएको थियो । यसपालि भने बदर मत संख्या घटाउन र नगरबासीलाई मत हाल्ने विधि सिकाउन थालिएको बताइएको छ । नेपाली कांग्रेस विराटनगर समितिका सचिव तेजेन्द्र भट्टराई भन्छन्, “टोल टोलमा पुगेर सर्वसाधारणहरूलाई भेला गराई मतदान कसरी गर्ने ? छाप कसरी लगाउने र के भए मतपत्र बदर हुन्छ भन्ने शिक्षा दिन थालेका छौँ । अब चुनाव नजिकै आइसकेकोले भ्याएका ठाउँहरूमा सकेसम्म पुग्ने गरेका छौँ ।” उनले मत बदर हुन नदिन दलहरूको अधिक ध्यान रहेको सुनाए ।
मोरङ जिल्लामा ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । १७ स्थानीय तह रहेको जिल्लामा एउटा महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका रहेका छन् । यता निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले छोटो समय भएकाले मतदाता शिक्षा कार्यक्रम गर्न कठिनाइ भएको बताउँछन् । “रेडियो, टिभी पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जाल प्रयोग गरेर मतदाता शिक्षा दिने प्रबन्ध गरिएको छ,” उनले सुनाए ।
अधिकारीले राजनीतिक दलहरूलाई घर–घरमा गएका बेला मतदाता शिक्षासमेत दिलाउन आग्रह गरिएको बताएका छन् । निर्वाचन कार्यालयले मतदान केन्द्रमा परिचय पत्र लिन आउनेहरूलाई मतदान अधिकृतहरूले मतदानस्थलमा सिकाउन सक्ने बताए ।
विराटनगरको मेयर पदका स्वतन्त्र उमेदवार उमेश यादवले अघिल्लो चुनावमा आफूले बदर मतको ठूलो पीडा खेप्नुपरेको सुनाउँदै भने, “योपटक सही तरिकाले मत हाल्ने विषयमा सचेत गराउन हामी आफैँले पहल गरिरहेका छौँ । घर–घर पुगेर मतदान गर्ने र छाप लगाउने विधि सिकाइरहेका छौँ ।” अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट मेयरमा उठेका यादव यो निर्वाचनमा जसपा त्यागेर स्वतन्त्र उठेका हुन् ।
विराटनगरमा बढेकासहित योपटक कुल मतदाताको संख्या एक लाख ३३ हजार छ । अघिल्लो निर्वाचनमा मेयरमा जम्मा सदर मत ६१ हजार २ सय ७० खसेको थियो ।
यसैगरी, मोरङको कटहरी गाउँपालिकामा पनि मतदाता शिक्षा दिलाउन दल आफैँले सुरु गरेका छन् । स्वतन्त्रसहित सबै उमेदवारहरूले घरदैलो गर्दै मतदाताहरूलाई मत कसरी खसाल्ने भन्नेबारे सिकाउँदै हिँड्न थालेका छन् ।
३७ जना जनप्रतिनिधि निर्वाचित हुने कटहरी गाउँपालिकामा जम्मा २ सय १३ जनाको उमेदवारी परेको छ । अध्यक्षमा ९ जना र उपाध्यक्षमा ६ जना, वडाअध्यक्षमा ४४, दलित महिला सदस्यमा ३८ महिला सदस्यमा ३८ र सदस्य पदमा ७८ जनाको उमेदवारी परेको छ ।