नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि यो साता नेपाल विद्युत् प्राधिकरणले टेन्डर आह्वान गरेको छ ।
प्राधिकरणले वर्षायाममा नेपालले खपत गरी बाँकी रहने विद्युत्मध्येबाट २०० मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न भारतीय कम्पनीहरूसँग टेन्डरमार्फत प्रस्ताव माग गरेको हो ।
प्राधिकरणले उल्लेखित परिमाणको बिजुली आगामी ५ महिना अर्थात् असार १७ देखि कात्तिक २९ गते तदनुसार १ जुलाईदेखि २९ नोभेम्बर २०२२ सम्म बिक्री गर्ने जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लाग अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत् खरिद गर्ने प्रतिस्पर्धामा भाग लिन पाउने जनाएका छन्।
प्राधिकरणका अनुसार नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले जेठ १३ गते मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेस गर्न सक्ने छन् । प्रस्ताव पेस गर्ने कम्पनीहरूले कम्तीमा ५० र बढीमा २०० मेगावाटसम्म खरिद गर्ने प्रस्ताव प्रस्तुत गर्न सक्ने छन् ।
प्राधिकरणलाई प्राप्त प्रस्ताव सोही दिन अपराह्न १ बजे खोलिने छ। बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनौट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइने भएको छ।
कम्पनीहरूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (नेरु ४८ हजार) प्रतिमहिना ‘अर्नेस्ट मनि डिपोजिट’ धरौटी राख्नुपर्छ।
भारतले नेपालका ६ वटा विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। यो नेपालले बिक्री गर्न लागेको यो विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत निर्यात हुने छ ।
निर्यात गर्न लागिएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका कालीगण्डकी– ए, देवीघाट, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, त्रिशूली र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडको लिखु –४ बाट उत्पादन हुने ३६४ मेगवाटमध्येको हो ।
नेपालले ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने स्वीकृति पाए पनि अहिले २०० मेगवाटका लागि मात्र टेन्डर आह्वान गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि गरेको भारत भ्रमणका क्रममा ३६४ मेगावाट विद्युत् बिक्रीका लागि दुई देशका निकायबीच सहमति भएको थियो । वर्षामा नेपालले खपत गरेर बाँकी रहेको बिजुली के गर्ने भन्ने बारेमा अझै कुनै निर्णय भएको थिएन ।
गतवर्षको मनसुनमा करिब ५०० मेगावाट अर्थात् करिब पाँच अर्ब बराबरको बिजुली खेर गयो । यसैगरी हरेक मनसुनमा नेपालमा उत्पादित केही बिजुली खेर जाने गरेको छ । मनसुन सुरु भएपछि नेपालमा नदी तथा खोलामा जलसतह बढ्न गई नेपालका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् ।
नेपालको कुल जडित क्षमता २ हजार २ सय मेगावाट हाराहारी पुगेको छ। नेपालभित्रको कुल खपत भने १ हजार ६ सय मेगावाट बराबर मात्रै छ ।
पछिल्लो समय देशमा उत्पादित बिजुली खेर जानु र खपत गर्ने अवस्था पनि नहुनुले सरकारलाई विकल्प खोज्ने दबाब परेको थियो । हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्ति अन्त्य गर्न पछिल्लो समयसरकार र निजी क्षेत्र दुवैले पहल गरिरहेका छन् ।
यही क्रममा सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाएको हो ।