वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि छापिएका सबै मतपत्र ढुवानीको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आजसम्ममा सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिएका हुन् ।
आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ ।
त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् । देशभरका ७ सय ५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।
आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशनसमेत दिएको छ ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।