
रौतहट — राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता र बालबालिकासम्बन्धी ऐनको ठाडो उल्लंघन गरेका छन् । आचारसंहिताविपरीत उनीहरूले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ ।
मंगलबार मध्याह्न भारतसँग सीमा जोडिएको सीमावर्ती ईशनाथ नगरपालिका–६ स्थित जयनगरमा बालबालिकाहरू भारतीय नम्बरप्लेटको मोटरसाइकलमा ‘कांग्रेस पार्टी जिन्दावाद’ भन्दै ओहोरदोहोर गरिरहेका थिए । एउटै मोटरसाइकलमा चारवटा झन्डा राखेर ५ जना बालक प्रचारप्रसारमा खटिएका थिए । जयनगर गाउँनजिकै ‘भोट केमा सूर्यमा’ भन्दै एमालेको झन्डा बोकेर बालकहरूको अर्को हूल प्रचारमा थियो । राजपुरस्थित कुडिया गाउँमा माओवादीको प्रचारमा रहेको बालकहरूको अर्को समूहले समेत झन्डा बोकेको थियो ।
दलहरूले आचारसंहिताविपरीत भारतबाट डीजे ल्याएर चर्को संगीत प्रयोग गर्ने र बालबालिकालाई झन्डा बोकाउँदै चुनावी प्रचारमा हिँडाउने क्रम सबैजसो पार्टीले गरेका छन् । जयनगरमा भेटिएका एक बालकले आफू चुनाव प्रचारमा खटेको जवाफ दिए । मोटरसाइकलमा बालबालिकालाई बोकिरहेका चालकहरूले हेलमेटसमेत नलगाई ट्राफिक नियम उल्लघंन गरिरहेका थिए । मोटरसाइकल, ट्र्याक्टर, साइकल, ई–रिक्सा चढेर घरदैलोमा हिँडेको धेरैजसो दलहरूले भीड बढाउन बालबालिकाको प्रयोग गरेको देखिन्छ । यस्ता गतिविधि रोक्न स्थानीय निर्वाचन अधिकृतको कार्यालयले पनि कुनै कारबाही गरेको देखिन्न । ईशनाथ नगरपालिकाका निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले सर्वदलीय बैठक राखेर बालबालिकाको प्रयोग गर्न नहुने र आचारसंहिता पूर्ण रूपमा पालना गर्ने भनेर दलहरूले प्रतिबद्धतासहित हस्ताक्षर गरेको बताए । ‘बालबालिकाहरू ब्यानर, झन्डा बोकेर प्रचारमा हिँडेको भन्ने अहिलेसम्म जानकारी आएको छैन,’ उनले भने, ‘अब दलहरूलाई सचेत गराउँदै यसमा रोक लगाउँछौं ।’
बालबालिकासम्बन्धी ऐन, २०७५ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने, बन्द, हडताल, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने भनी यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्याख्या गरिएको छ । कोही कसैले ऐनविपरीत गरेमा दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको अधिवक्ता विपिन गौतमले बताए । ‘विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ मा बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने भनेर उल्लेख गरेको छ,’ उनले भने, ‘दलहरूले बालबालिकालाई प्रचारप्रचारमा नहिँडाउने भन्छन् तर व्यवहारमा लागू गर्दैनन् । यो समस्याकै रूपमा छ ।’
कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादवले चुनावमा बालबालिकालाई हिँड्न नदिइएको दाबी गरे । ‘जबर्जस्ती कोही हिँड्छ भन्ने कसको के लाग्छ ?’ उनले भने । जिल्लाका १८ वटै स्थानीय तहमा दलहरूले प्रचारप्रचारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । माओवादीका जिल्ला इन्चार्ज युवराज भट्टराई र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमलराय यादवले पनि प्रचारप्रसारमा बालबालिकालाई हिँड्न नदिएको दाबी गरे । मानवअधिकार संस्था इन्सेकको रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाले चुनावमा बालबालिकालाई सहभागी नगराउन दलहरूको ध्यानाकर्षण गराउने बताइन् ।