
कर्णाली – प्रदेश सरकारले २०७९ सालमा राष्ट्रियबाहेक थप आठ दिन सार्वजनिक विदा दिने भएको छ। विदा थपसम्बन्धी निर्णय प्रदेशको राजपत्रमा प्रकाशित भएको छ।
राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक विदा दिइनेछ। ऐतिहासिक दिनका रूपमा चैत १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा विदा दिने सरकारले निर्णय गरेको छ।
साउने संक्रान्ति तथा देउडा पर्वका नाममा साउन १ गते सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए। साउन १७ गते नागपञ्चमी, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज २३ गते कोजाग्रत पूर्णिमा र चैत १६ गते रामनवमीका अवसरमा विदा दिने निर्णय भएको छ।
यस्तै सरकारले असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ बाबा मेलाको सार्वजनिक विदा दिने भएको छ। यो दिन जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरूमा मात्र विदा हुने मन्त्रालयले जनाएको छ।