
सुरक्षा अधिकारीले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सुगम जिल्ला मोरङको दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन गरेका छन् ।
सुरक्षा उपस्थिति कमजोर रहेका र भौगोलिक हिसाबमा विकट मानिएका दुईवटा मतदानस्थलको अनुगमनमा मुख्य निर्वाचन अधिकृत भरत लम्साल पनि पुगेका थिए । मुख्य निर्वाचन अधिकृत लम्साल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापा, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासु सिग्देलसहितको टोली विकट स्थानका मतदानस्थलकोे अनुमगनमा गएको थियो ।
केराबारी गाउँपालिका–१ पाटी गाउँमा रहेको सरस्वती माध्यमिक विद्यालय र केराबारी–२ जेफालेस्थित पञ्चायत आधारभूत विद्यालय मतदानस्थलको अनुमगन गरेर टोली आइतबार राति विराटनगर फर्किएको हो । धनकुटाको भेडेटार हुँदै मोरङको दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनमा गएको टोलीलाई विराटनगर फर्किन १२ घण्टाभन्दा बढी समय लागेको थियो ।
दुईवटा मतदान केन्द्र रहेको सरस्वती मावि मतदानस्थलमा एक हजार सात सय ९३ र एउटा मात्रै मतदान केन्द्र रहेको पञ्चायत आधारभूत विद्यालयमा नौ सय ८९ जना मतदाता छन् । प्रजिअ दाहालले अनुगमन र निरीक्षण गर्दै भौगोलिक हिसाबले विकट रहेका मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिइएको बताए ।
वैशाख ३० गते हुने निर्वाचनमा उचित सुरक्षा व्यवस्था मिलाउँदै भयरहित, शान्तिपूर्ण र निष्पक्ष रूपमा मतदान गर्ने वातावरण बनाउन मतदानस्थलको अनुगमन गरिएको जानकारी उनले दिए । सडक पूर्वाधारका हिसाबमा केही सहज हुने भएकाले मतदानस्थलसम्म पुग्न धनकुटाको भेडेटार हुँदै जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘मतदानस्थलसम्म पुग्ने कच्ची सडक वर्षाका कारण हिलाम्य छ । सबै सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन,’ दाहालले भने, ‘ठाउँठाउँमा गाडी फस्ने समस्या छ । केही सहजता र अलि कम समयमा मतदानस्थल पुग्नलाई मोरङबाट धनकुटा हुँदै जानुपर्ने अवस्था छ ।’ आकस्मिक समस्या पर्दा सुरक्षाका लागि सीमा जोडिएको धनकुटासँग पनि समन्वय भइरहेको उनले बताए ।
विकट क्षेत्रमा मतपत्र लगायतका निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको छ । निर्वाचनका बेला प्रत्येक मतदानस्थलमा ३० मिनेटभित्रमा पुग्न सक्ने गरी सेनाको टोली तैथान गर्ने नीति सरकारको छ ।
तर दुर्गमका मतदानस्थलमा छुट्टै टोली खटाउनुपर्ने अवस्था रहेको प्रजिअ दाहालले बताए । त्यस विषयमा जिल्ला सुरक्षा समितिमा छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाइ छ ।