
सिरहामा स्थानीय तहको निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको लडेर मृत्यु भएको छ।
जिल्लाको नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका स्थानीय ६५ वर्षीय बद्री मोचीको मृत्यु भएको हो।
चुनाव प्रचारको जुलुसमा हिँड्दै गर्दा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।
वृद्धको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ।
वृद्धको मृत्युबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।