
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्डफ्लु भेटिएको छ । नागस्वतीको कुखुरा व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
खतिवडाको फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँको सङ्ख्यामा कुखुरा मरिसकेको बताइएको छ । वैशाख ९ मा बर्डफ्लु शङ्का लागेपछि नमुना परीक्षणका लागि पशु सेवा विभाग काठमाडौँमा नमुना पठाइएकोमा सात दिनपछि आज बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको प्रमुख डाक्टर ठाकुरले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसी बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा जाँदै गरेको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । बर्डफ्लू प्रमाणित भएको रिपोर्ट आएपछि बर्डफ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नष्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।