
सप्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर बुढ्थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
उक्त वन कार्यालयका सब-इन्जिनियर गोरसिंह बढुवाल, सब-इन्जिनियर रविन्द्र शाही, उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विशु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा पदमार्ग निर्माण कार्य गर्दा लगत इस्टिमेटमा उल्लेख भएअनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी कार्य नापी किताबमा उल्लेख गरेर भुक्तानी बिल तयार गरी भुक्तानी गरिएको भन्दै अभियोगपत्र दर्ता गरिएको छ ।

मुगुको सोरु गाउँपालिका वडा नम्बर १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माण गर्दा फिल्डमा कामै नगरी ८ लाख ८७ हजार ६५३ रूपैयाँ मास्ने उद्देश्यले बढी भुक्तानी दिइएको अभियोगपत्रमा उल्लेख छ ।