
गोरखा केन्द्रबिन्दु भइ २०७२ सालमा गएको भूकम्पको सातौं स्मृति दिवस आज विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा गरी १४ जिल्लामा बढी प्रभाव पारेको थियो । यी जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो ।
भूकम्पमा परी करिब नौ हजार मानिसको ज्यान गएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख भन्दाबढी निजी भवनमा क्षति पुगेको थियो भने करिब डेढ हजार सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए ।
सात वर्षअघिको भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न २०७२ को पुसमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना भएको थियो ।