
बाढीका कारण क्षतिग्रस्त भएपछि रोकिएको मेलम्चीको पानी वितरण पुनः सुचारु हुँदै छ । १० महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण गर्न थालिएको छ ।
आयोजना सञ्चालन भएको केही समयपछि नै गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएको थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार आजदेखि उपत्यकामा मेलम्चीको पानी आउनेबिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै घर–घरमा पानी वितरण हुनेछ ।
नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो ।
त्यसको एक सातापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।
मन्त्री चौधरीले आयोजनालाई सुरक्षित र दीर्घकालीन बनाउनेबारे विस्तृत अध्ययन भइरहेको र मुहान क्षेत्रका भौतिक संरचना तथा तटीय क्षेत्रको संरक्षणका लागि विस्तृत अध्ययन भइरहेको जानकारी दिए ।
खानेपानी मन्त्रालय र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच गत माघ ७ गते सम्झौता भई त्यसको एक सातापछि (माघ १४ गतेदेखि) क्षतिग्रस्त आयोजनाको मर्मत र सफाइको काम सुरु भएको थियो ।
मन्त्रालय र कम्पनीबीच ९० दिनमा पूरा गर्नेगरी भएको सम्झौता निर्धारित समयभन्दा १५ दिनअगावै सम्पन्न भएको छ । कम्पनीले समयमै काम सम्पन्न गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत तीन चरण गरी २४सै घण्टा काम थालेको थियो ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आए पनि त्यो काठमाडौँका लागि पर्याप्त हुँदैन । मेलम्चीको सुरुङमार्ग प्रयोग गरी याङ्ग्री र लार्केखोलाबाट दैनिक थप ३४ करोड लिटर पानी काठमाडौँ ल्याउने योजनाबारे दातृनिकाय, विज्ञ तथा सरोकारवाला निकायसँग परामर्श भइरहेको छ ।
त्यससँगै सिस्नेरी र ठोस्रेखोलाको पानी ल्याउनेबारे आन्तरिक रूपमा अध्ययन भइरहेको छ । यी योजना कार्यान्वयनमा आए उपत्यकामा पानीको सङ्कट सधैँका लागि अन्त्य हुने विज्ञहरुको भनाइ छ ।