
लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) र नाइट्रोसनसहित विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिका–२ का ३६ वर्षीय राजु महर्जन पक्राउ परेका हुन् । महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम खैरो हेरोइन र २० चक्की नाइट्रोसन बरामद भएको उनले बताए ।
लागुऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट उनलाई पक्राउ गरेको हो । भारतको जोगवनीदेखि आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा महर्जनको साथबाट लागुऔषध बरामद भएको डिएसपी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जोगवनीबाट लागुऔषध लिएर उनी पैदल नै विराटनगरतिर आउँदै थिए । महर्जनविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।