
रौतहट – काठ तस्करले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गतको जंगलसैया सेक्टर वनका फरेस्टर शम्भु महतो र सशस्क्र वन रक्षक रत्नबहादुर बुढाथोकीमाथि आक्रमण गरेका छन् ।
केही दिनअघि राति गस्तीमा निस्केका उनीहरूले जंगलबाट सिमरी गाउँतर्फ आउँदै गरेको मोटरसाइकल देखेपछि रोक्ने प्रयास गरे । काठ लोडसहितको मोटरसाइकल छाडेर तस्कर भागे । गस्तीमा दुई जना मात्र थिए । एकैछिनमा गाउँबाट समूह बनाएर आएका तस्करले वन कर्मचारीमाथि आक्रमण गरे ।
वनरक्षकले दुई राउन्ड हवाई फायर गरेका थिए । तस्करको आक्रमणबाट महतो घाइते भएका छन् । ‘बल्लतल्ल ज्यान जोगियो । उनीहरू मार्ने उद्देश्यले आएका थिए,’ घाइते महतो भन्छन्, ‘हामी दुई जना मात्र भएकाले प्रतिकार गर्न सकेनौं । धारिलो हतियारले आक्रमण गरेर काठ लगे ।’
डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादवले तस्करको खोजी भइरहेको बताए । ‘अहिले निर्वाचनको बेला तस्कर हाबी हुन खोजेका छन् । अब गस्ती बढाउँछौ,’ उनले भने ।