
रुकुम पूर्व – सिस्ने गाउँपालिका–५ मैदानका हरि दमाई ८३ वर्षका भए । अहिले पनि उनी नियमित काम गरिरहेका छन् । कहिलेकाहीं आउने पाहुना व्यवस्थापन पनि आफ्नै कमाइले धानिरहेका छन् । उनको काम कपडा सिउनु हो । परम्परागत सीपबाटै जीवन चलाएका उनी अबको केही वर्ष यही सीपबाटै जीविकोपार्जन गर्ने योजनामा छन् ।
सिस्ने–२ का माने दमाईको उमेर ६७ वर्ष भयो । तैपनि, उनी कपडा सिलाउने कामबाट थाकेका छैनन् । सानै उमेरमा कपडा सिउन सिकेका उनी अहिलेसम्म यही पेसामा रमाएका छन् । अहिले पनि उनी चार जनाको परिवार कपडा सिलाएरै पालिरहेका छन् । ‘५० वर्षदेखि निरन्तर मेसिन घुमाइरहेको छु,’ उनले भने, ‘तर, अझै थाकेको भने छैन ।’
हरि र माने प्रतिनिधि पात्र हुन् । जिल्लाका धेरै गाउँमा निरन्तर काम गरेर परिवार पालिरहेका ६० वर्षमाथिका धेरै छन् । विशेष गरी सानै उमेरमा सिकेको सीपको प्रयोग गरेर गुजारा चलाउनेहरू सन्तुष्ट पनि छन् । उनीहरूले लामो समयदेखि यही पेसा अँगालेका छन् । अरू कसैको भर पर्नु परेको छैन । ‘सन्तुष्ट नभए त यो उमेरसम्म कसरी काम गर्न सक्दो हुँ त !,’ हरिले भने, ‘सधैं गरेको काम गर्न अल्छी लाग्दैन । कमाइ पनि भइरहेकै छ ।’ बिहानैदेखि बेलुका अबेरसम्म सानो घुम्तीमा उनी मेसिन चलाइरहन्छन् । लामो समय हाते मेसिन चलाएका हरि पछिल्ला केही वर्षदेखि खुट्टे मेसिन चलाइरहेका छन् । सबैखाले कपडा तयार पार्न सक्ने सीप भएका उनका नियमित ग्राहक धेरै छन् । आफैं कपडा तयार पारेर पनि बेच्छन् । महिनामा १५ हजार रुपैयाँ हाराहारीमा कमाइ गर्ने गरेको उनले बताए ।
मानेको अनुभव पनि हरिको जस्तै छ । ‘सानैमा लुगा सिउन सिकें । अब बुढेसकालमा अर्को काम गर्न मन लाग्दैन,’ उनले भने, ‘यसैमा कमाइ छ । यसैमा रमाइरहेको छु ।’ कपडा सिलाउनेहरू पछिल्लो समय नगदमा काम गर्न थालेका छन् । धेरै समय कपडा सिलाएबापत अन्नपात ल्याएर खाने उनीहरू पछिल्लो समय भने नगदमै काम गर्न थालेका हुन् । ‘धेरै समय बालीघरे प्रथामै काम गर्यौं,’ सिस्ने–३ का रामलाल नेपालीले भने, ‘केही वर्षदेखि काम गरेबापत नगद नै लिइरहेका छौं ।’ पछिल्लो पुस्ताका धेरैले नगदमै काम गरिरहेका छन् । लामो समय काम गर्दै गर्दा फेरिएको कुरा यही भएको ७१ वर्षीय दलवीर दमाईले बताए । पहिला–पहिला दलितको मात्रै पेसा भन्ने गरिएकामा हाल सबैले यो पेसा अँगालेको देख्दा खुसी लाग्ने उनको भनाइ छ । ‘सबै जातजातिकाले यो पेसा गर्न थालेका छन्,’ उनले भने, ‘कति वर्ष टिक्ने हुन्, हामी त ५०/५५ वर्षदेखि यही काम गर्दै आएका छौं ।’
विभिन्न ठाउँ र क्षेत्रमा बसेर निरन्तर पेसा गरिरहेकाहरू पाको उमेरसम्म पनि कमाइ गरिरहेको बताउँछन् । अरूभन्दा तुलनात्मक रूपमा यो सिलाइ व्यवसायमा रहेकाहरू नै लामो समयसम्म टिकेको सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताए । ‘मजाले आफ्नो काम गरिरहनु भएको छ । धेरै चिन्ता पनि छैन,’ उनले भने, ‘तुलनात्मक रूपमा उहाँहरू सन्तुष्ट पनि देखिनु हुन्छ ।’ पाको उमेरसम्म यसरी आफ्नै सीपमार्फत जीविकोपार्जन गरिरहेकाहरू धेरैका लागि प्रेरणा स्रोत भएको विकले बताए ।