
काठमाडौं – अछाम, बाँके र चितवनमा तीनजनाको डुबेर मृत्यु भएको छ। अछामको पन्चदेवल बिनायक नगरपालिका ८ भात्खेत बस्ने गोपाल जैशीको छोरा ६ वर्षीय अभिषेक जैशीको कर्णाली नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने राम प्रसाद जैशीको छोरा ११ वर्षीय बिराज जैशी र अभिषेक उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बारलाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा अभिषेक जैशीको शव फेला परेको हो। हाल बेपत्ता बिराजको खोजी भइरहेको छ।
त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका ६ रझेना बस्ने राज कुमार थारुको छोरा ९ वर्षीय रेसप थारुको सोही ठाउँस्थित सिक्टा सिचाई नहरमा डुबेर सोमबार साँझ मृत्यु भएको छ। उक्त नहरमा साथीहरुसँग नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यसैगरी चितवनको भरतपुर महानगरपालिका २१ बस्ने २१ वर्षीय साकार न्यौपानेको तनहुँ देवघाट गाउँपालिकास्थित काली नदी र त्रिशुली नदीको दोभानमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। पोडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढ र विपद् व्यवस्थापन समेतको प्रहरी टोलीको सहयोगमा खोजी गर्ने क्रममा भरतपुर महानगरपालिका १८ गाँजिपुरस्थित नारायणी नदीको किनारमा शव फेला परेको हो।