
लेटाङ–कानेपोखरी सडकखण्डअन्तर्गत कानेपोखरी–७ मा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्याक्टरको ठक्करबाट लेटाङ नगरपालिका–५ का ८१ वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका–५ का २६ वर्षीय महेश कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । पैदल यात्रीको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा–७ बेलगाछीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ८० वर्षीया धनमाया घिमिरेको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए ।
दुर्घटनालगत्तै फरार बनेको मोटरसाइकल र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ ।