
सर्लाही-सर्लाहीमा किसानले महालक्ष्मी चिनी उद्योगका ३ वटा ट्रक नियन्त्रणमा लिएका छन् । उखुको भुक्तानी नदिएको भन्दै आन्दोलित किसानले चिनी लोड गरेका ट्रक नियन्त्रणमा लिएका हुन् ।
उद्योगले किसानको भुक्तानी नदिई गोप्य रुपमा गोदामबाट सबै चिनीको बोरा बिक्रीको लागि
निकासी गर्न खोजेको भन्दै किसानले चार दिनदेखि ट्रक नियन्त्रणमा लिएर राखेका छन् । न्यु विश्व ढुवानी सेवाको ना६ ख २१७३, ना५ख ७३८७ र प्रदेश २ –००३००१ ख ३०५७ नम्बर प्लेट भएका ट्रक नियन्त्रणमा लिइएको हो । एउटा ट्रकमा ४२० चिनीको बोराका दरले ६३ टन चिनी लोड गरिएको थियो । उद्योगको गोदाममा अहिले २० देखि २५ ट्रक चिनी मात्र बाँकी रहे पनि दर्जनौं किसानले अहिलेसम्म पनि भुक्तानी पाएको आन्दोलित किसानहरुले गुनासो गरेका छन् ।
उखु बुझाएको १० दिनमै भुक्तानी दिने भनिए पनि उद्योग बन्द भएको महिनौं बित्दा पनि भुक्तानी नपाएको उखु किसान सुनिलकुमार सिंहले बताए । भुक्तानीका लागि उद्योग प्रशासनले पटकपटक हारगुहार गर्दा पनि किसानलाई कुनै वास्ता नगरेपछि बाध्य भएर चिनी लोड गरिएको ट्रक नियन्त्रणमा लिएको उनले बताए । “उद्योगका जनरल म्यानेजरले १० दिनमै भुक्तानी दिन्छौं भन्नुभएको थियो ।
तर मैले अहिलेसम्म भुक्तानी पाएका छैनौं । मेरो ६–७ लाख भुक्तानी लिन बाँकी छ,” उनले भने ।
अर्का उखु किसान राजकिशोर महतोको पीडा पनि उस्तै छ । उनले भने, “मैले उद्योगलाई ८ हजार क्विन्टल उखु बेचेको ११ लाख भुक्तानी लिन बाँकी छ । पैसाका लागि ताकेता गर्दा आज–भोलि भन्दै आलटाल गर्दै आएको थियो तर यता आएर उद्योग प्रशासनको सम्बन्धित व्यक्ति समेत सम्पर्क हुन र कार्यालयमा भेटिन छाडेका छन् । साहुले पनि हामीसँग कुनै किसिमको कुरा गर्न चाहेका छैनन् ।” ट्रक नियन्त्रणमा लिइएको ४ दिन बित्न लाग्दा पनि उद्योग प्रशासनले भुक्तानीको लागि कुनै सहमति नगरेको उनले गुनासो गरे ।
किसानले चिनी लोड गरेको ट्रक जान नदिएपछि फेरि गोदाममै चिनी सुरक्षित अनलोड गरिदिएको ट्रक ड्राइभर सुवोधकुमार यादवले बताए । चिनीको बोरा ट्रकमा लोड भई भ्याट बिल र चलानी समेत बनिसकेको अवस्थामा किसानले ट्रक जान नदिएपछि सहमतिका लागि ४ दिन कुरे पनि दुवै पक्ष कुनै निचोडमा पुग्न नसक्दा ट्रक खाली गरेको उनको भनाइ छ ।
किसानहरुले ट्रक नियन्त्रणमा लिएपछि ३ वटा ड्राइभर र खलासी ६ जना अलपत्र परेको न्यु विश्व ढुवानी सेवाका सञ्चालक रामनाथ यादवले बताए । रोड पेमेन्ट, जाँच पास, बिमा, बैंकको किस्ता, गाडीको मर्मत सम्भार, ड्राइभर र खलासीको तलब तिर्नुपरेको गुनासो उनले गरे ।
चार दिनदेखि उद्योगमा अलपत्र परेपनि उद्योग प्रशासनले खानाको समेत व्यवस्था नगरेको अर्का ड्राइभर अनिल कुमार यादवले बताए । चाउचाउ र दालमोठको भरमा गुजारा गर्दै आएको बताउँदै उनले गोजीमा भएको पैसा समेत सकिएको गुनासो गरे ।
महालक्ष्मी सुगर्स प्रालिका म्यानेजर सियाराम साहले भने उद्योगले फेब्रअुरी ५ तारिखसम्मको भुक्तानी गरिसकेको र ६ देखि १४ सम्मको भुक्तानीका लागि सूचना समेत जारी गरेको बताए । किसानहरुको बाँकी रहेको १५ दिनको भुक्तानी छिटै गरिने भनी साहुबाट निर्देशन आइसकेको उनको भनाइ छ । उद्योगले किसानहरुको १२ करोडमात्र भुक्तानी गर्न बाँकी रहेको साहको दाबी छ । गत फागुन २२ गते बन्द भएको उद्योगले यस वर्ष ८ लाख ३८ हजार क्विन्टल उखुमात्र क्रसिङ गरेको छ । २२–२५ हजार क्विन्टल प्रतिदिन क्रसिङ गरेको उद्योगको एक सिजनमा २० देखि २२ लाख क्विन्टल क्रसिङ गर्ने क्षमता छ । उखुको अभावका कारण क्षमता अनुसार क्रसिङ गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
जिल्लामा चिनी उद्योगको संख्यामा वृद्धि भए पनि उत्पादन बढ्न नसकेका कारण उद्योग घाटामा गएको बताइएको छ । सर्लाहीमा मात्र अहिले इन्दुशंकर, अन्नपूर्णा र महालक्ष्मी गरी ३ वटा उद्योग सञ्चालनमा रहेका छन् । छिमेकी जिल्ला रौतहटको डुमरियामा बैजुबाबा र महोत्तरीमा एभरेस्ट उद्योग छन् ।