१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौं – सुरुङमार्गका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अवरोध गरेका छन् ।

आयोजनाका कारण खानेपानीको मुहान सुकेकाले खानेपानीको समस्या भएको, सिँचाइ हुन नसकेको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष गोपी सुखेर्तीले बताए । आयोजना यो वडामा पनि पर्छ ।

सडक विभागका अधिकारीहरूले भने स्थानीयसँग यसअघि गरिएको सम्झौताविपरीत विभिन्न मागहरू थप्दै अवरोध गरिएको बताएका छन् । स्थानीयले खानेपानीलाई बहाना बनाएर अरू पूर्वाधार बनाउन आयोजनालाई दबाब दिन निर्माणमा अवरोध गरेको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालको भनाइ छ । उनका अनुसार चन्द्रागिरि–२ का स्थानीयलाई दैनिक पाँच ट्यांकर पानी ठेकेदारले वितरण गरिरहेको छ ।

“अहिले खानेपानीको मुहान सुक्यो भनिए पनि स्थानीयले सडक पिच गराउनुपर्ने, फुटबल मैदान निर्माण गरिदिनुपर्ने, सुरुङमार्गमाथि पर्ने जग्गाको शतप्रतिशत मुआब्जा दिनुपर्ने माग अगाडि सारेका छन्,” उनले भने ।

चन्द्रागिरि–२ का स्थानीयका लागि बोरिङ गरेको खानेपानी हाल वितरण भइरहेको सञ्जालमा जोड्ने सहमति आयोजनाले गरेको थियो । बोरिङका लागि चन्द्रागिरि नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमति भएको नेपालले बताए । “तर, अहिलेसम्म नगरपालिकाले जग्गा उपलब्ध गराएको छैन,” उनले भने, “बोरिङका लागि जग्गा उपलब्ध गराएको भए यो समस्या नै आउने थिएन ।”

सुरुमा खानेपानीको व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने सम्झौता गरेको नगरपालिकाले अहिले जग्गा किनेर उपलब्ध गराउन भनिरहेको नेपालले बताए । “पहिले गरेको सहमतिबाहेक फरक–फरक माग आएका छन् । नगरपालिकाले बोरिङका लागि जग्गा दिने लिखित सहमति गरेको छ । तर, अहिले आयोजनाले नै जग्गा किनेर दिनुपर्ने माग गरिरहेको छ,” उनले भने ।

केही दिनअघि स्थानीयले आयोजना कार्यालयमा ढुंगामुढा पनि गरेका थिए । देशकै पहिलो सुरुङमार्गका रूपमा अगाडि बढेको यो आयोजनामा यसअघि पनि अवरोध भएको थियो । तर, स्थानीय र आयोजनाबीच सहमति भएपछि निर्माणकार्य अगाडि बढेको थियो ।

सडक पूर्वाधारमा महत्त्वपूर्ण संरचना मानिएको सुरुङमार्ग देशकै पहिलो सडक सुरुङमार्ग हो । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको हो । सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये जाइकाको १६ अर्ब रुपैयाँ सहयोग र ६ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

आयोजना निर्माणका लागि जाइकासँग ०७३ पुसमा ऋण सम्झौता गरिएको थियो । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको शिलान्यास ०७६ कात्तिकमा गरिएको थियो ।

प्रवेश मार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास आयोजनाको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]