
वासिङटन – मेक्सिकोबाट अमेरिका पस्न खोज्ने २ लाखभन्दा बढी आप्रवासी एक महिनामै पक्राउ परेका छन् । अमेरिकी सीमा सुरक्षा अधिकारीहरूले मार्चमा गैरकानुनी रुपमा मेक्सिकोको सिमाबाट प्रवेश गर्नखोज्ने २ लाख १० हजार आप्रवासी पक्राउ परेका जनाएकाहुन् । जुन पछिल्लो दुई दशकयता एकै महिना पक्राउ पर्ने सबैभन्दा ठूलो संख्या हो ।
पछिल्लो घटनापछि राष्ट्रपति जो बाइडेनमाथि आप्रवासी मामिला मुख्य चुनौतीका रुपमा रहेको टिप्पणी हुन थालेको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गत वर्ष मार्चमा गैरकानुनी रुपमा प्रवेश गर्ने प्रयासपछि पक्राउ पर्नेको संख्या १ लाख ६९ हजार थियो ।
जो बाइडेनले पदभार सम्हालेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टरपन्थी अध्यागमन नीतिहरूलाई उल्टाउने वाचा गरेका थिए । तर अवैध रुपमा सीमा पार गर्ने आप्रवासीहरूलाई रोक्न बाइडेनले संघर्ष गर्नु परेको बताइन्छ । जबकि रिपब्लिकनका नेता ट्रम्पले आप्रवासीहरूलाई लक्षित गर्दै मेक्सिकोसँगको सीमा कडा गर्ने वाचा गरेका थिए । उनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने भन्दै बजेटसमेत छुट्याएका थिए ।तर पछिल्लो समाचार सार्वजनिक भएसँगै बाइडेनको कार्यकालमा आप्रवासन समस्या थप जटिल बन्न सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।
यस वर्षको मार्चमा अवैध रुपमा सीमा पार गर्न खोज्नेहरूको संख्या अप्रत्यासित रुपमा बढेपछि अधिकारीहरूले आप्रवासीको संख्या नियन्त्रणका लागि ठोस पहल गर्नुपर्ने बताएका जनाइएको छ ।