
कालिकोट – विशालु च्याउले आमाबुबाको मृत्यु भएपछि खाडाचक्र–१ मान्मका दुई बालिकाको बिचल्ली भएको छ । ज्याला मजदुरीका लागि भारत गएका खाडाचक्र–१ का ३१ वर्षीय डम्मर बादी र उनकी पत्नी बाचुसरी गत वर्ष भारतको नैनीतालमा विषालु च्याउ खाएर बितेपछि दुई बालिकाको बिचल्ली भएको हो ।
उनीहरूका १ वर्ष र ५ वर्षकी छोरी छन् । बादी दम्पतीले उनीहरूलाई पनि साथै नैनीताल लगेका थिए । त्यतिबेला सानी बालिका ९ महिना र ठूली ४ वर्षकी थिइन् । च्याउ खाएलगत्तै बाबुआमाको ज्यान गएपछि नैनीतालमा उनीहरू बिचल्लीमा परे । जसोतसो आफन्तले २ दिदीबहिनीलाई कालीकोट ल्याइपुर्याए ।
मान्मस्थित एक झुपडीमा उनीहरूकी ६१ वर्षीया हजुरआमा लक्ष्मीले दुवैलाई हेरबिचार गर्दै आएकी छन् । ‘म आफैं बेसहारा छु, अब यिनलाई कसरी स्याहार्नु ?’ उनले भनिन्, ‘एकातिर बुढेसकालको सहारा छोराबुहारी गुमाए, अर्कातिर यस्ता नाबालक नातिनी छन्, कसरी गुजारा चलाउने ?’
नातिनीहरूलाई खाना खोज्न गाउँतिर जाँदा एक महिनाअघि पाखामा लडेर उनको दाहिने हात भाँचिएको छ । ‘डाक्टरले उपचार गर्न जुम्ला जानु भनेका छन् तर त्यहाँ जाने पैसा पनि छैन,’ उनले भनिन् । उनी मान्मस्थित कर्णाली राजमार्गको छेउमा जीर्ण घरमा बस्दै आएकी छन् ।
३ बादी परिवारको नाममा लालपुर्जा पनि छैन । उनीहरू मागेर गुजारा चलाउन बाध्य छन् । मान्म बजारमा १८ वादी परिवार छन् । घरमा काम गर्न सक्नेले ज्याला मजदुरी गरेर गुजारा चलाए पनि ज्येष्ठ नागरिक भएकाको परिवारको बिचल्ली भएको बादी अगुवा कौशिला बादीले बताइन् ।