
एजेन्सी – चीनले युरोपेली मुलुक सर्बियालाई आधुनिक विमानप्रतिरोधी प्रणाली एचक्यू–२२ आपूर्ति गरेको छ । युक्रेनमासथ रुसको आक्रमणका कारण युरोपको ध्यान त्यतै रहेको बेलामा चीनले सर्बियासँग डील गरेको हो ।
सर्बियालाई हतियार दिँदा क्षेत्रीय शान्ति र सुरक्षामा खतरा उत्पन्न हुने पश्चिमी मुलुकहरूले केही समयअघि बताएका थिए । शनिवार बिहान चिनियाँ वायुसेनाका ६ वटा वाई–२० मालवाहक विमान बेलग्रेड विमानस्थलमा ओर्लिएका थिए । यसमार्फत सर्बियाको सेनाले जमीनबाट हावामा मार हान्न सक्नेछ ।
सर्बियासँग चीनको सम्बन्ध निकै सुमधुर छ । नेटोले सर्बिया (तत्कालीन युगोस्लाभिया) माथि अन्धाधुन्ध बम खसाएर तहसनहस बनाउँदा चिनियाँहरू समेत मारिएका थिए । चीनको एचक्यू–२२ मध्यम तथा लामो दूरीको सर्फेस टु एयर मिसाइल डिफेन्स सिस्टम हो । च्यांगन स्पेस इन्डस्ट्रीले यो हतियार प्रणाली बनाएको हो ।
एचक्यू–२२ क्षेप्यास्त्र प्रणालीको दायरा १७० किलोमिटर छ । यसको तौल ३०० किलो र लम्बाइ सात मिटर छ । यसले १८० किलोसम्मको वारहेडका साथ आक्रमण गर्न सक्छ । यसमा सोलिड फ्युल रकेट उपयोग गरिन्छ । यसलाई दिशा देखाउनका लागि सेमी एक्टिभ रेडार होमिङ र रेडियो कमान्ड गाइडलाइन उपयोग गरिन्छ ।