
एजेन्सी – हिजो पनि राजधानीबाट बाहिरिने र बाहिरबाट राजधानी भित्रिने विशिष्ट व्यक्तिहरु धेरै देखिए । विशेषगरी हवाइजहाजको उडानबाट विभिन्न दलका नेता तथा मन्त्रीहरुको देश दौडाहा भइरहेको देख्न सकिन्छ ।
हिजो एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ गृहजिल्ला इलामबाट राजधानी फर्कनुभएको छ । उहाँ बुद्ध एयरको बिहान ८ बजेको उडानमा भद्रपुरबाट आउनुभएको हो ।
हिजो नेपाल एअरलाइन्सको उडानमा काठमाडौंबाट क्वालालम्पुर हुँदै जापान जान लागेकी सविता नेपाली नाम गरेकी महिला यात्रुको ब्यागबाट प्रहरीले एक राउण्ड –इन्सासको गोली फेला पारेको छ । तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया उनलाई अनुसन्धानको निम्ति गौशालास्थित प्रहरी बृत्तमा लगिएको जनाइएको छ ।
हिजै बुद्ध एयरको उडानमा अष्ट्रेलियाका राजदूत काठमाडौंबाट बिहान सवा ८ बजे भैरहवा गएको र बुद्ध एअरको उडानमा बिहान पौने ९ बजे शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भरतपुरबाट काठमाडौं आउनुभएको बुझिएको छ ।
पूर्वमन्त्री विक्रम पाण्डे पनि हिजै श्री एयरलाइन्सको उडानमा बिहान साढे ९ बजे काठमाडौंबाट भद्रपुर जानुभएको छ । उता एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका १० जना नेताको टोलीसहित नेपालगञ्ज पुग्नुभएको हो । उहाँ यति एअरलाइन्सको उडानमा हिजो बिहान १० बजे त्यता जानुभएको हो ।
बुद्ध एयरको काठमाडौं–सिमरा उडानमा राप्रपा नेता पशुपतिसमशेर राणा हिजो दिउँसो साढे १२ बजे वीरगञ्ज जानुभएको छ । बुद्ध एअरकै उडानमा हिजो दिउँसो १ बजे अमेरिकी राजदूत रेण्डी बेरी र एमाले नेता खगराज अधिकारी पोखरा जानुभएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन बुद्ध एयरको उडानमा हिजो साँझ साढे ७ बजे सिमराबाट काठमाडौ आउनुभएको छ ।