सप्तरी – वैज्ञानिकहरुले एक ५३ वर्षीया महिलाको छालाको सेल्सलाई ३० वर्ष जवान अर्थात् २३ वर्षको अवस्थामा पुर्याउन सफल भएका छन् । क्याम्ब्रिजका खोजकर्ताहरुले शरीरका अन्य टिस्युहरुलाई पनि यसरी बदल्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
उमेरसँग सम्बन्धित रोग जस्तै मधुमेह, मुटु रोग र स्नायु प्रणालीमा खराबी जस्ता समस्याको उपचारमा मद्दत पुर्याउने लक्ष्यले यो खोज सुरु गरिएको थियो ।
यसमा प्रयोग भएको प्रक्रिया २५ वर्ष अगाडिको डली नामक ‘क्लोन’ गरिएको भेडालाई निर्माण गरिएकै तरिका भएको बताइएको छ ।
अनुसन्धान टोलीका प्रमुख, प्रोफेसर उल्फ रेकले कुरा गर्दै यो प्रविधिले अन्ततः मानिसहरुलाई बुढो हुँदा लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्न सक्ने बताए ।
उनी भन्छन्, “यस किसिमको आविस्कार हाम्रो लामो समयदेखिको सपना थियो । उमेरसँगै धेरै मानिसहरुमा सामान्य रोग पनि गम्भीर बन्दै जान्छ अनि विभिन्न अंगहरुले राम्रो काम गर्न छाड्छन् । त्यसैले यो प्रविधिले उनीहरुलाई पक्कै मद्दत गर्नेछ भनेर हामी ज्यादै उत्साहित छौँ । ”
तर यो अझै सुरुवाती चरणमै भएको पनि उनले जर्नल ‘इ–लाइफ’ मा स्पष्ट पारेका छन् । उनका अनुसार यो प्रक्रियालाई ल्याबबाट बाहिर क्लिनिकसम्म ल्याएर प्रयास गर्न अझै विभिन्न वैज्ञानिक अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ ।
तरपनि आफूहरुले पहिलोपटक छालाको सेल्सको यौवन फर्काउन सम्भव रहेको कुरा प्रमाण सहित प्रस्तुत गर्न सफल भएको बताए ।
यसरी सेललाई पुनःनिर्माण गर्न सकियो भने विभिन्न रोगका कारण कमजोर भएका अनि काम नगर्ने मांसपेसी, कार्टिलेज, नर्भ सेल्सहरुलाई प्रतिस्थापन गर्न सकिनेछ ।
यसका लागि उनीहरुले ‘आइपीएस प्रक्रिया’ अपनाएका हुन् जसमा वयश्क सेल्समा ‘विशेष केमिकल’ राखेर त्यसलाई ५० दिनसम्म छाडिन्छ । नतिजा स्वरुप त्यसको ‘जेनोम’मा परिवर्तन आएपछि सो सेल ‘स्टेम सेल्स’ मा परिणत हुन्छ । स्टेम सेल्सलाई शरीरको कच्चा पदार्थ पनि भन्ने गरिन्छ किनकी यसैबाट हाम्रा शारीरिक गतिविधि गर्न सक्षम अन्य सेल्सहरु उत्पन्न हुन्छन् । र रोग ठीक गर्नका लागि बिरामीको शरीरमै आवश्यक स्टेम सेल्स पुनःविकसित गराउनुपर्ने हुन्छ ।
तर दशकौँदेखिको प्रयासका वावजुद यो तरिका अत्यन्तै कठिन छ र अहिलेसम्म सिमित स्तरमा मात्र प्रयोग गरिएको छ ।
प्रोफेसर रेइकको टोलीले एक ५३ वर्षीया महिलाको छालामा आइपीएस प्रक्रियाको प्रयोग गरेका थिए । तर यसमा उनीहरुले ५० दिनको सट्टा केमिकललाई १२ दिनका लागि मात्र छाडिदिएका हुन् । यसपछि डाक्टर दिलजिति गिलले उक्त सेलको परीक्षण गर्दा यसले स्टेम सेल्स जस्तो नभएर २३ वर्षीया मानिसको छालाका सेल्स जस्तो गतिविधि देखाइरहेको पत्ता लगाए ।
उनी भन्छन्, “मलाई यसको नतिजा आएको दिन अझै याद छ । पहिले त मलाई विश्वास नै लागेको थिएन कि उनको सेल्स ३० वर्ष जवान भएको थियो । यो उल्लेखनीय खोज हो । ”
यो तरिका तत्कालै क्लिनिकमा प्रयोग गर्न मिल्दैन किनकी आइपीएस प्रक्रिया क्यान्सरको जोखिम बढाउन सक्छ । तरपनि यो अनुसन्धानबाट हाम्रो छालाका सेल्सहरु पुनः जवान बनाउन सकिने पत्ता लागेको छ । त्यसैले अब उनको टिम यसको वैकल्पिक, सुरक्षित तरिकाको खोजीमा लागि पर्ने उनले बताए ।
उनले भने, “हाम्रो दिर्गकालीन लक्ष्य मान्छेको जीवन आयु बढाउने होइन केबल मानव स्वास्थ्यलाई लामो समयसम्म कायम राख्नु सकिने बनाउनु हो । यसले मानिसहरुलाई स्वस्थ रुपमा बूढो हुन उल्लेखनीय भूमिका खेल्नेछ । ”
प्रोफेसर रेइक भन्छन् सुरुवातमा यसको प्रयोग बूढा मानिसहरुको छालालाई पुनः विकसित गराउने औषधि निर्माण गर्न प्रयोग गर्न सकिन्छ । यस मार्फत शरीरमा चोटपटक लागेका, जलेका भागहरुलाई लक्षित गरि उनीहरुको घाउ छिटै ठीक गर्न सकिनेछ ।
यसपछिको अर्को कदम भनेको प्रविधिको मद्दतले यसलाई मांसपेसी, कलेजो र ब्लड सेल्समा पनि काम गर्न सक्छ सक्दैन भन्ने जाँच गर्नु हो ।
त्यस्तै यस मार्फत नजिकी भविष्यमा पूरै शरीरलाई पुनःमर्मत गर्न सक्ने ‘एन्टि–एजिङ पिल्स’ पनि बनाउन सकिने प्रोफेसर रेइकले बताए ।