काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०७९ साल असोजमा ५ वर्ष पूरा हुने जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हरण भएको बताएका छन् । तर अहिलेका लागि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको तर निर्वाचन आयोगले असोजमममा ५ वर्ष कार्यकाल पूरा हुनेहरूको भावनाको विपरीत चुनाव मिति घोषणा गरेको कुरा उठेको भन्ने प्रश्न आइरहेको भए पनि वैशाख ३० गतेको तयारीमा जुट्न उनले भनेका हुन् ।
पार्टीको दोलखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले गरेको मिति घोषणाप्रति असन्तुष्टि रहेको बताए । ‘समस्या त छ, जेठको ५ गते पहिलो चुनाव भएको थियो । असार र असोजमा चुनाव भएको थियो ।
असोजमा निर्वाचित भएकाको ५ वर्ष पुगेको छैन,’ उनले भने, ‘५ वर्ष नपुगेकाहरूको भावनाको विपक्षमा निर्णय गरेको छ भन्ने कुरा उठिरहेको छ । भोलि जे होला होला अहिले तयारीमा जुटौं । अहिले वैशाख ३० गतेकै तयारीमा जुटौं । मान्छेले ‘के हुन्छ, के हुन्छ ?’ भनेर सोधिरहेका छन् । जे हुन्छ हुन्छ, अहिले वैशाख ३० गतेको तयारीमा जुटौं ।’
जननिर्वाचितहरूको संवैधानिक अधिकारको हरण भएको नेपालको भनाइ थियो । उनले निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन घोषणा भएकोप्रति इंगित गर्दै भने, ‘असोजमा ५ वर्ष पूरा हुनेहरूको प्रश्नको जवाफ कसले दिने ? उहाँहरूको संवैधानिक अधिकारको हरण भएको छ । यो चुनाव असोज महिनामा ५ वर्ष पुग्नेहरूको भावनाको विपरीत छ ।’
नेपालले पार्टीमा आकर्षण बढिरहेको पनि दाबी गरे । उनले पछिल्लो समय कानुन व्यवसायी, चार्टर्ड अकाउन्टेन्ट, बैद्धिक समुदायका व्यक्तिहरू एकीकृत समाजवादीमा समाहित भइरहेको बताए । चुनावको बेला भएकाले अझै पार्टी कार्यकर्ता सक्रिय हुनुपर्ने उनको निर्देशन थियो ।