
मोरङ – तीन जना सवार मोटरसाइकल मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
कोसी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१७प ७६७२ नम्बरको मोटरसाइकल आइतबार राति ९:२० बजेतिर दुर्घटनामा परेको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनारका २२ वर्षीय अनिष कार्कीको ज्यान गएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा राति ९:४५ बजे मृत्यु भएको हो। कार्कीको चिउँडो, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार मोरङको जहदा गाउँपालिकाका २१ वर्षीय सुमन राजवंशी र विराटनगर महानगरपालिकाका १८ वर्षीय रोनिस दाहाल सामान्य घाइते भएका छन्। उनीहरूको विराटमै उपचार भइरहेको छ।