काठमाडौं – नेपाल प्रहरीमा थपिएका तीन वटा दर्जाका लागि झण्डै २० हजार दरबन्दीको बढुवा सिफारिसद्वारा पदपूर्तिको प्रक्रिया अगाडि बढेको छ।
सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ नायब निरीक्षक (सई) मा बढुवा भएका प्रहरी कर्मचारीलाई यति बेला भ्याई नभ्याई छ, बढुवापछि लगाउने फुली खोज्न । उनीहरू बजारमा फुली अर्थात् दर्ज्यानी चिन्हको अर्डर गरिरहेका छन् ।
वृत्ति विकाशस्वरुप राज्यले बढुवा गरेर लगाई दिने यस्ता दर्ज्यानी चिन्ह प्रहरीले आफै खोज्छन् र पाखुरामा लगाई दिनुस् भन्दै कार्यालय प्रमुखलाई दिन्छन् ।
‘अहिले हामीलाई भ्याई नभ्याई छ। तर आफैले फुली खोज्दै हिँड्दा दुख लाग्छ’, वरिष्ठ सईमा सिफारिस भएका एक अधिकारीले भने । सईले यसअघि दुई वटा तारा लगाउने गरेकोमा वरिष्ठ सईमा अब एउटा थपेर तीन वटा लगाउँछ । ती प्रहरी कर्मचारीले एउटा फुली किन्न ८ सय रुपैयाँ पर्ने बताए ।
‘यहाँ पैसाको कुरा होइन। बल्लबल्ल पाएको बढुवामा फुली खोज्दै हिँड्नु र ल लगाई दिनुस् भन्दै भन्नुपर्ने अवस्थाको हो’, उनी भन्छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले भने सम्बन्धित कार्यालयले नै फुली लगाई दिने बताए ।
‘पहिलो पटक लगाउँदा हामी आफै दिन्छौँ । त्यसपछि भने हरायो वा बिग्रियो भने उनीहरू आफैले किन्ने हो’, एसएसपी केसीले भने । उ
नले हालसालै मात्र प्रहरी प्रधान कार्यालयले करिब १२ हजार फुलीहरू टेन्डरमार्फत खरिद गरेको बताए ।
‘सम्बन्धित ठाउँका कार्यालय प्रमुखहरूले पनि फुली लगाई दिन्छन् । त्यसका लागि ती कार्यालयहरूमा फुलीको सञ्चय पनि हुन्छ’, उनले भने ।
एसएसपी केसीले पहिलो पटक पनि दर्ज्यानी चिन्ह प्रहरी कर्मचारी आफैले खरिद गर्नुपर्ने अवस्थाबारे भने अनभिज्ञता प्रकट गरे । नक्सालस्थित प्रहरी प्रधान कार्यालयबाहिर, इन्द्रचोक, ठमेल, महाराजगन्जलगायत ठाउँमा पुलिसका दर्ज्यानी चिन्ह बनाइने पसलहरू छन् ।