गुल्मी – गुल्मीमा कोरोना भाइरसपछि गाउँगाउँमा करोडौं खर्चिएर स्वास्थ्य क्षेत्रका भौतिक संरचना निर्माण भएका छन् । जिल्लामा रहेको गुल्मी अस्पतालसहित स्थानीय तहमा करिब १० करोडका स्वास्थ्य संरचना निर्माण भएका हुन् ।
गुल्मी अस्पतालमा करिब डेड करोडको अक्सिजन प्लान्टसमेत निर्माण भएको छ । साथै डेढ करोडको लागतमा गुल्मी अस्पतालमा आईसीयू निर्माण भइरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले जानकारी दिए । उनका अनुसार ६४ लाखको लागतमा एचडीयू सञ्चालनमो छ । अक्सिजन प्लान्ट, आईसीयू र एचडीयू निर्माण तथा सञ्चालनले जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आशा पलाएको छ । गुल्मी अस्पतालमै २० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन र १ सय ३० वटा अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएका थिए । गुल्मी अस्पतालले कोभिडकै कारण ३५ लाख बढी खर्च गरेर एक्स–रे मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।
जिल्लाको कालिगण्डकी गाउँपालिकामा आठवटा अक्सिजन कन्सन्ट्रेटर र २१ वटा अक्सिजन सिलिन्डर छन् । दुई स्टाफ नर्स र कार्यालय सहयोगीको व्यवस्थापन गरेर अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गरिएको स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए । मुसिकोट नगरपालिकामा १४ अक्सिजन सिलिन्डर र आठवटा कन्सन्ट्रेटर छन् । मेडिकल अधिकृत एक, स्टाफ नर्स एक, हेल्थ असिस्टेन्ट एक र कार्यालय सहयोगी एक जनाको व्यवस्थापन गरेर अस्थायी कोभिड–१९ अस्पताल सञ्चालन गरेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए ।
गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालका अनुसार गाउँपालिकामा ६÷६ वटा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर छन् । दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको व्यवस्थापन गरेर १० बेडको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याइएको छ । धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार गाउँपालिकामा १३ वटा अक्सिजन कन्सन्ट्रेटर र १९ वटा अक्सिजन सिलिन्डर रहेका छन् ।
छत्रकोट गाउँपालिकाका अनुसार गाउँपालिकामा २९ अक्सिजन सिलिन्डर र १० कन्सन्ट्रेटर छन् भने एउटा जेनेरेटरको व्यवस्थापन गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाका अनुसार कोभिड–१९ कै कारण पाँच अक्सिजन कन्सन्ट्रेटर र १८ वटा अक्सिजन सिलिन्डर छन् । करिब आठ लाखका अत्यावश्यक स्वास्थ्य सामग्रीको गाउँपालिकाले जोहो गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले कोभिडले समस्यासँगै जिल्लामा सचेतना र पूर्वाधार तथा उपकरणमा ठूलै उपलब्धि भएको बताए ।
५० प्रतिशत सस्तोमा अक्सिजन बिक्री
गुल्मी अस्पतालसँगै जिल्लाका अन्य स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीले पनि सहज रूपमा अक्सिजन पाउनेछन् । अस्पतालले अहिले ठूलो सिलिन्डर १२ सय, मझौला एक हजार र सानालाई सय रुपैयाँमा अक्सिजन भरिरहेको छ ।
दैनिक १० सिलिन्डर अक्सिजन गुल्मी अस्पतालमै खपत हुन्छ । गुल्मी अस्पतालको निर्माणाधीन अत्याधुनिक भवन र पालिकास्तरमा बन्न लागेका १५ शैय्याका अस्पतालका लागि पनि प्लान्ट उपयोगी हुने गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए । “गुल्मीमा स्वास्थ्य क्षेत्रमा केही आशा बढेका छन् । कोभिडका कारण प्लान्टलगायतका महत्वपूर्ण संरचना बनेका छन्,” पाण्डेले भने, “जनशक्ति व्यवस्थापन र दीर्घकालीन सञ्चालनमा चनाखो बन्नुपर्छ ।”
बिहीबार गुल्मीमा निर्माण गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लान्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन् ।
सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल सञ्चालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरू गरेको बताए । “तीव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान सञ्चालन गरी सरकारी क्षेत्रसँगको समन्वयमा प्लान्ट सञ्चालन गरेर देशमै उदाहरणीय काम गरेको छ,” ज्ञवालीले भने, “जिल्लामा कोभिड–१९ का कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि पत्रकारले ठूलो काम गरेका छन् ।” ०७८ वैशाख अन्तिम साताबाट पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लान्ट अभियान’ संचालनका लागि रकम संकलन गर्न लागेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जनाएको छ ।
प्लान्ट निर्माणमा त्रिपक्षीय सहयोग
अक्सिजन प्लान्टको पूरा व्यवस्थापनमा त्रिपक्षीय सहयोग रहेको छ । प्लान्ट निर्माणका लागि ‘अक्सिजन प्लान्ट अभियान’ बाट संकलित ५० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा नेपाल सरकारबाट एक करोड विनियोजन भयो । सरकार र पत्रकार महासंघको अभियानबाट संकलित एक करोड ५० लाखको ठेक्का सम्झौतामार्फत फेयर ट्रेड काठमाडौंले प्लान्ट निर्माण गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।
अहिले यहाँबाट दैनिक ९६ सिलिन्डर ग्यास उत्पादन भइरहेको छ । त्यस्तै, गुल्मी उद्योग वाणिज्य संघले करिब १८ लाखको लागतमा अक्सिजन प्लान्ट राख्न भवन निर्माण गरेको छ ।