झापा – राजस्व चुहावट नियन्त्रण गर्नु राजस्व अनुसन्धान विभागको कर्तव्य हो । विभागलाई राजस्व चुहावट नियन्त्रणमा लिन खापापाता नियन्त्रणमा लिने, छापा हान्ने, शिल गर्ने अधिकार छ ।
तर, राजस्व अनुसन्धान कार्यालय इटहरीले बिहीबार झापाको बिर्तामोडस्थित साह कपडा पसल सिल गरेसँगै व्यवसायी आन्दोलित बनेका छन् । विभागले छापा हान्दा व्यवसायीले अवरोध गरेपछि कार्यालयका कर्मचारीले बल प्रयोग गरी पसल सिल गरेका हुन् ।
व्यवसायीसँग कुनै छलफल नगरी सिधै आएर छापा हानेको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघले बिहीबार दिउँसो २ घण्टा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध ग¥यो भने त्यसकै विरोधमा बिर्तामोड क्षेत्रका अधिकांश पसल बन्द भए ।
बिर्तामोड उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै व्यवसायीका फर्ममा चेकजाँचका नाममा दुःख दिने गरेकाले व्यवसायी आतंकित भएको उल्लेख गरेको छ । फर्मको प्रमुख व्यक्ति वा सञ्चालक नभएको अवस्थामा दादागिरी शैलीमा पसल शिलबन्दी गरेकाले बाध्य सडक अवरुद्ध गर्नुपरेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली बताउँछन् ।
“राज्यको कामलाई हामीले असहयोग गरेको होइन, गलत गर्ने व्यवसायीलाई कारबाही हुनुपर्छ” मैनाली भन्छन्, “बसेर समन्वय गरौँ भन्दा राजस्वका कर्मचारीहरु भाग्नु भयो । यस्तो अवस्थामा हामीले बाध्य भएर आक्रोस सडकमा पोखेका हौँ ।”
बुधबार नै राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत प्रकाश सुवेदी नेतृत्वको टोली पसलमा छानबिन गर्ने उद्देश्यले साह कपडा बिर्तामोड आएको थियो । “सुवेदीको नेतृत्वको टोलीलाई बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारीले छलफल गरौँ, पसल सञ्चालक तिर्थ जानु भएको छ, भनेर फर्काएका थियौँ” बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले भने ।
राजस्व अनुसन्धान कार्यालयका एक कर्मचारीका अनुसार साह कपडा पसलका सञ्चालकले समेत खरिद खाता, बिक्री खाता र स्टक बुक केही नभएको बताएका थिए । उनका अनुसार, “त्यसपछि सुवेदी नेतृत्वको टोलीले पसलमा सिल लगाउने प्रयास गरेपनि संघले अवरोध गरेपछि उक्त टोली कुनै कारबाही नगरी फिर्ता भएको हो ।”
त्यसपश्चात, राजस्व अनुसन्धान कार्यालय इटहरीले झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालसँग समन्वय गर्दै कार्यालयका अधिकृत सुवेदी नेतृत्वको टोलीलाई फेरि बिहीबार बिर्तामोड पठाएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले प्रारम्भिक अध्ययनमा शंकास्पद कारोबार भएको देखिएकाले शिल गरिएको बताए । “बुधबार नै २ जना कर्मचारी साह कपडा पसल पुग्नु भएको थियो, उहाँले सञ्चालक स्वयम्लाई भेटेर खरिद, बिक्री बिल र स्टक माग्नु भएको हो । उहाँहरु केही कागजात नभएको बताउनु भयो” पौडेलले कारोबारसँग भने, “हामीले कुनै पनि नियतले सिल गरेका होइनौँ । पसलमा रहेका कागजात सुरक्षित होस् र अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यले सिल गरेका हौँ ।”
संघको विरोधले कार्यालय डराएर अनुसन्धान नगर्ने भन्ने नहुने पौडेल बताउँछन् । “यसप्रकारका घटनाले विभागको काम नै प्रभावित हुनसक्छ” उनी भन्छन्, “हाम्रो काम नै अनुसन्धान गर्ने हो । व्यापारीले भनेजस्तो हामीले बल प्रयोग गरेका होइनौँ । त्यती ठूलो जमातको अगाडी हाम्रा ५ जना कर्मचारीले कसरी बल प्रयोग गर्ने ? भिडमा अप्रिय घटना हुन सक्छ भनेर कर्मचारी भने सिल पश्चात कार्यालय फर्केका हुन् ।” पौडेल व्यवसायीले विरोध गर्दैमा सिल खोल्न नसकिने बताउँछन् ।
विवाद बढेसँगै झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले शुक्रबार विहान व्यवसायी र राजस्व विभागका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।